ड्रागन फलको दाम पाएनन् किसानले

<span class='c1'>ड्रागन फलको दाम</span> <span class='c2'>पाएनन् किसानले</span>

झापा । यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् ।

“सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,” गौरीगञ्ज गाउँपालिका-२ मा नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आउनुभएका भूपेन्द्र थापा भन्नुहुन्छ, “त्यत्रो लगानी र मेहनत गरियो । अहिले उत्पादन बेच्ने बेलामा बजारमा दामै नपाएको अवस्था छ ।”

उहाँले १० हजार सिमेन्टका पिलरमा ४० हजार रातो ड्रागन फलको बोट हुर्काउनु भएको छ । विगत दुईवर्ष अघि रोपिएका ती बोटमा अहिले राताम्य फल लागेर पाकेका छन् । तर दाम भने प्रतिकिलो रु दुई सयदेखि तीन सयसम्ममा बेच्नु परिरहेको छ ।

उहाँले यू-ट्युवमा हेर्दा ड्रागन फल मिठो, पोषिलो र महँगोमा बिक्री हुने फलफूल हो भन्ने सुनेर त्यसको खेती सुरु गरेको बताउनुभयो । प्रतिकिलो रु एक हजारसम्म बजारमा सजिलै बिक्री हुन्छ भनेर प्रचार हुने गरेको तर, अहिले बजारमा यसको भाउ आधाभन्दा बढी घटेको उहाँले सुनाउनुभयो ।

थापाले सुमेरु कृषि फार्म प्रालि स्थापना गरी ड्रागन फलको व्यावसायिक खेती गर्नुभएको हो । गतवर्ष नै उहाँको फार्ममा फल लाग्न थालेका थिए । यसपाली त लटरम्मै फलेका छन् ।

दमक, विर्तामोड, गौरीगञ्ज, इटहरी र धरानका बजारसम्म पु¥याएर बेच्दा पनि बढीमा प्रतिकेजी रु पाँच सय पाएको उहाँले बताउनुभयो । धेरै फल टिप्नु परेका बेला घाटा बेहोरेर प्रतिकेजी रु दुई सयमा पनि बिक्री गरेको हुँदा ड्रागन खेतीमा भएको लगानी डुब्ने जोखिम बढेको उहाँको भनाइ छ ।

बुद्धशान्ति गाउँपालिका–१ मा ब्रह्याकमल बगैँचा कृषि फार्मका सञ्चालक कृष्ण पोखरेलले गत वर्षको तुलनामा आधा कम मूल्यमा ड्रागन फल बिक्री गरिरहेको बताउनुभयो । उहाँले १० कठ्ठा जमिनमा खेती गर्दै आउनु भएको छ । खेतीका लागि बनाइएको सिमेन्टको पिलर र त्यसमा बिरुवा अड्याउने टायरको दामसमेत महङ्गिएको उहाँले बताउनुभयो ।

श्रमिकको ज्याला, मलखादको मूल्य लगायतको दाम बढिरहेको जनाउँदै उहाँले बजार र मूल्यको सुनिश्चितता नहुँदा ड्रागन खेतीमा लागेका किसानमा निराशा बढेको बताउनुभयो । गत असार १५ गतेदेखि फल टिप्न सुरु भइसकेको छ भने कात्तिक अन्तिमसम्म फल पाकिसक्ने भएता पनि अहिले फल पाक्ने उच्च सिजन हो ।

उहाँले गतवर्ष फार्मबाटै न्यूनतम प्रतिकेजी रु छ सयमा बिक्री गरेको ड्रागन फलको मूल्य हाल आधासम्म ओरालो झरिसकेको छ । उहाँले सामाजिक सञ्जालमै राताम्मे पाकेका ड्रागन फलको तस्बीर पोस्ट्याएर बिक्री बढाउने उपाय खोजिरहनुभएको छ । कृषि ज्ञान केन्द्र झापाले ड्रागन फल खेतीका लागेका किसानलाई समेत प्रोत्साहनस्वरुप अनुदान दिनेको गरेको जनाएको छ ।

ज्ञान केन्द्रबाट सुमेरु कृषि फार्मले पिलर निर्माणका लागि गतवर्ष रु सात लाख अनुदान पाएको थियो । अरु किसानले पनि अनुदान पाएका छन् ।

सुमेरु कृषि फार्मका सञ्चालक भूपेन्द्र थापाले गत वर्ष रु १२ लाखको ड्रागन फल बिक्री गरेको बताउनुभयो । यसवर्ष उत्पादन दोब्बर हुने भए पनि मूल्य घटेका कारण उहाँले आम्दानी घट्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख चेतराज भण्डारीले जिल्लामा ६० हेक्टर जमिनमा ड्रागन फलको व्यावसायिक खेती हुँदै आएको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हेक्टरमा भएको खेतीबाट एक सय ८० मेट्रिक टन ड्रागन फल उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ५० हेक्टर जमिनमा यसको खेती विस्तार भएको थियो । जसबाट किसानले पाँच सय ६८ मेट्रिक टन फल उत्पादन गरेका थिए । गत आर्थिक वर्ष २०७९/८० मा ६० हेक्टरमा यसको खेती विस्तार भएको थियो भने उत्पादन छ सय ८५ मेट्रिक उत्पादन भएको थियो ।

मूल्यमा अस्थिरता भएता पनि ड्रागन फलको खेतीमा किसानको आकर्षण बढिरहेको दाबी गर्नुभयो । जिल्लाको गौरादह, दमक, भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र गौरीगञ्ज, बुद्धशान्ति, कमल, झापा गाउँपालिकामा यसको व्यावसायिक खेती भइरहेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्