विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा एक युवामाथि कुटपिट भएको छ । बर्जु गाउँपालिका–६ स्थित बर्जु ताल भित्र निर्माण भएको मन्दिरसम्म पुग्ने बाटोको ढलान चर्किएको विषय सामाजिक सञ्जालमा सार्वजानिक गरेको भन्दै सन्नीकुमार चौधरीमाथि कुटपिट भएको हो ।
चौधरीले बर्जु ताल भित्रको मन्दिरसम्म पुग्ने बाटो निर्माण भएको चार महिना नपुग्दै चर्किएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनलाई श्रवणकुमार चौधरीले बुधबार बिहान कुटपिट गरेका हुन् । उनी बर्जु गाउँपालिका उपाध्यक्ष नितुकुमारी चौधरीका श्रीमान् हुन् ।
स्थानीय चिमडी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक (सई) भुपेन्द्र ढुंगानाले आ–आफैं विवाद गरेर ठेलाठेल भएको बताए । उनले कुटाकुट भएका दुवै पक्षलाई सँगै अस्पताल पठाएको बताएका छन् । घटनामा संलग्न भएका श्रवणले सामान्य भनाभनका क्रममा धकेलाधकेल भएको बताए । उनले आफू ठेकेदार नभएर अर्काको काम हेरिदिएको बताए । उनले सन्नीको उपचारमा आफैं अस्पताल पुगेर सहयोग गरेको दावी गरेका छन् ।
सन्नी बर्जु ताल नजिकै रेष्टु–राँ सञ्चालन गर्दै आएका थिए । उनको छ महिना अगाडीदेखि रेष्टु–राँ बन्द रहेको छ । श्रवणका अनुसार अस्पतालमा सिटी स्क्यान गर्दा सामान्य रहेको रिपोर्ट आएपनि एक दिन बस्ने ईच्छा देखाएपछि उसका परिवारलाई जिम्मा लगाएर आफू फर्केको बताए ।