विराटनगर । कोशी प्रदेश सरकारले विद्युतीय चुलो प्रदेश सांसद र कर्मचारीलाई वितरण सुरु गरेको छ । ११ हजार रुपैयाँसम्म पाइने विद्युतीय चुलो प्रतिगोटा १३ हजारमा खरिद गरिएको पाइएको छ ।
प्रदेश सरकारले टेण्डर मार्फत अगेनो ब्राण्डका ६१३ वटा विद्युतीय चुलो ९५ लाख ७४ हजार ३२५ रुपैयाँमा खरिद गरिएको चुलो सांसद र प्रदेश मातहतका कर्मचारीलाई वितरण गरिरहेको हो ।
खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयले खरिद गरी कोशी प्रदेशसभाका सांसदका लागि ८८ वटा र कर्मचारीका लागि ३१ वटा चुलो प्रदेश सभा सचिवालयमा पठाइएको मन्त्रालयले जनाएको छ । बिहीबारसम्म २१ जना सांसदले चुलो बुझेर लगेको प्रदेशसभाको सचिवालयले जाएको छ । खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयले खरिद गरेको विद्युतिय चुलोमा इन्डक्सन र इन्फारेड गरी दुई सुविधा रहेको मन्त्रालयका सूचना अधिकारी राजेन्द्र माझीले बताए ।
उनका नुसार इन्फारोडमा अन्य भाडाकुडामा पनि पकाउन सकिन्छ । मन्त्रालयले १३ हजार चार सय रुपैयाँका दरले खरिद गरेको चुल्हो बजारमा भने १० हजार पाँच सय रुपैयाँ देखि १२ हजार पाँच सय रुपैयाँसम्ममा पाइन्छ । ब्यापारीका अनुसार प्रदेश सरकारले खरिद गरेकै अगोनको ब्राण्डको मोडल नम्बर ‘एजिएन–डी आइआई–१००’को बजार मुल्य १० हजार पाँच सयदेखि ११ हजार रुपैयाँमा पाइन्छ ।
दुई हजार र १५ सय वाटका सुविधायुक्त चुल्हो मन्त्रालयले टेण्डर मार्फत १३ हजार ४ सयका दरले ६१३ वटा खरिद गरेको थियो । सांसद र कर्मचारीलाई वितरण गर्न खरिद भएको चुलो युरोपियन प्रविधिमा आधारित रहेको प्रवक्ता माझीले बताए । अगेनोका एक विक्रेताले मोडल र वाट अनुसार चुल्होको बजार मुल्य १० हजार पाँचसयदेखि २० हजार रुपैयाँसम्म पर्ने गरेको बताए ।
बजेटमा नै उल्लेख थियो
आर्थिक वर्ष २०७९–८० मा प्रदेश सरकारले विद्युतिय उर्जा प्रयोग वृद्धिकालागि प्रोत्साहन गर्न भन्दै चुलो खरिद गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेट मार्फत गत असोज ९ गते चुलो खरिदका लागि टेण्डर आह्वान भएको हो ।
पहिलो सूचनामा स्पार्क इनकर्पोरेसन, भिजन अफ किचन लिङ्स काठमाडौ र अर्को एउटा कम्पनीले टेण्डर भरेका थिए । तर तीन वटा कम्पनीले भरेको टेण्डर प्रक्रिया नपुगेको भन्दै रद्ध भएको थियो । मन्त्रालयले दोस्रो पटक सूचना निकाल्दा एउटा मात्रै विक्रेताले टेण्डर भर्यो ।
मन्त्रालयले ९६ लाख ५ हजार ६ सय ४८ रुपैयाँमा मुल्य तोकेर खोलेको सूचनामा स्पार्क इन्कर्पोरेसन ललितपुरले मात्रै टेण्डर भरेको थियो । सो कम्पनीले ९५ लाख रुपैयाँमा टेण्डर भरेको थियो । अन्य प्रतिस्पर्धी नभएपछि सोही मुल्यमा ठेक्का पाएको थियो ।
सुरुमा टेण्डर आह्वान गर्दा टेण्डर भरेका तीन वटा कम्पनीले प्राविधिक सर्त पुरा गर्न सकेका थिएनन् ।
सांसदले लिएनन्
सरकारले वितरणका लागि ल्याएको चुलो नलिने नेपाली कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताए । नागरिक समस्यामा परेका बेला सांसदलाई सुविधा माथि सुविधा दिन उपयुक्त नरहेको उनको भनाई थियो । कोशी मुख्यमन्त्री उद्धव थापाले पनि चुलो खरिदले अलोचना भएको बताए ।
खानेपानी, सिचाई तथा उर्जा मन्त्री प्रदिप सुनुवारले आफूहरु आउनुभन्दा अगाडि कै निर्णय अनुसार खरिद भएको चुलो वितरणको प्रक्रियामा रहेको बताए ।