विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाए । तर, पुनः उनी विवादमा तानिएका छन् । मुख्यमन्त्री थापालाई सभाको अध्यक्षता गरिहेका नेपाली काँग्रेसका इस्राइल मनसुरीले समेत विश्वासको मत दिएका थिए ।
सत्ता गठबन्धन दलको थापा नेतृत्वको सरकार ढाल्ने रणनितिका साथ एमाले र राप्रपा गरी ९ जना जेष्ठ सांसदलाई प्रदेशसभामा अनुपस्थित गराएको थियो । तर पनि सभाध्यक्ष गरिरहेका मनसुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएसँगै सदनमा विपक्षी दल एमालले नाराबाजी समेत गरेका थिए ।
सदनको नेतृत्व गरिरहेका मनसुरीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिनु असंवैधानिक कदम भएको भन्दै सत्ता गठबन्धन दलको विरुद्ध एमालले नाराबाजी गरेका हुन् । मनसुरीले नेकपमा माओवादी केन्द्रका अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिनालाई जिम्मेवारी दिएर विश्वासको मत दिएका थिए । सत्ता गठबन्धन दलले सरकार टिकाउन गरेको खेल विधि विधान संविधान कानुन विपरित गरिएको पूर्व सांसद सुर्यमाराज राई बताउँछन् । अघिल्लो कार्याकालमा उननले नेपाली काँग्रेसका प्रमुख सचेतक समेतको भूमिका निर्वाह गरिसकेका छन् । उनले भने,‘मुख्यमन्त्री होस् या जोसुकै तर संविधान, विधि र प्रणालीको धज्जी त उडाउनु भएन नि ।’
पहिलो पटक सभामुखलाई हस्ताक्षर गराएर फेरी राजीनामा गराएर अहिले फेरी मतदान गर्न लगाउनु संविधान र संसदीय मर्यादामा नै प्रश्न उठेको उनको भनाई थियो । उनी भन्छन्,‘यो भन्दा अरु अब के गलत हुनुपर्ने रहयो र ?’
यता, एमाले संसदीय दलका नेता एवम् पुर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्तारुढ गठबन्धन दलबाट संविधानको धज्जी उडाउने काम भएको बताए । उनले अब कसरी अगाडि बढ्न छलफल भइरहेको समेत उनले बताए । एमाले सांसद लिलाबल्भ अधिकारीले यो सरकारलाई प्रदेश प्रमुखले मान्यता नदिने दाबी गर्दै यो सरकारले मान्यता नपाउने समेत जिकिर गरे ।
उनले भने,‘ यदि जबर्जस्ती मान्यता दिने कोशिस भयो भने हामी यसलाई अदालतमा चुनौती दिन चाहन्छौँ ।’ एमाले संसदीय दलको उपनेता राम रानाले अब एमाले रमिता हेरेर बस्ने भन्दै व्यंग गरे ।
संवैधानिक र असंवैधानिकको जवाफ उपसभामुखले दिनुहुन्छ :मुख्यमन्त्री थापा
मुख्यमन्त्री थापाले संवैधानिक या असंवैधानिक भन्ने सवालको जवाफ उपसभामुखले दिनुपर्ने बताउँछन् । उनले सभाकी प्रमुख भागेको बताउदै यो परिस्थिति उपसभामुखकै कारण भएको आरोप लगाए । उनले भने,‘विश्वासको मत लिन समय दिएर उहाँ भाग्नु भयो ।’ प्रदेशसभामा विश्वासको मत लिने समय दिएर प्रदेशसभा सदस्यलाई सभाको अध्यक्ष बनाएर आफ्नो सांसद बिदामा राखेर प्रदेशसभा खाली राख्ने उदेश्यका साथ उपसभामुख भागेको उनको आरोप थियो ।
सत्ता गठबन्धनले प्रदेशसभाको औचित्य पुष्टि गरेको बताउदै उनले प्रदेशसभा छ भनेर त्यसको वैधानिकतालाई बचाउने काम गरेको जिकिर गरे ।