देवराज तामाङ
विराटनगर। विराटनगर २ बस्ने सुजन लिम्बू विगत ३ वर्षदेखि सिटीसफारीमा यात्रा गर्दै आएका छन्। उनी मुनालपथदेखि महेन्द्र चौक आसपाससम्म आउजाउका लागि सिटी सफारी नै प्रयोग गर्दछन् । उनको अनुभवमा एउटै दुरी दैनिक आउजाउ गर्दा भाडा भने फरक–फरक तिर्नु पर्दै आएको छ । उनका अनुसार अनुहार हेरेर सिटी चालकहरुले फरक–फरक भाडा माग्ने गरेका हुन् ।
बिहान एउटा दरको भाडा बुझाएर यात्रा गरेको त्यहि दुरी साँझ अर्को भाडादर बुझाउनु पर्दा थकथक लाग्ने गरेको लिम्बु बताउँछन् । विराटनगरमा सञ्चालनमा रहेका सिटी सफारीको भाडादरमा एकरुपता कायम नहुँदा लिम्बु जस्तै अन्य यात्रु मर्कामा परेका छन्। विराटनगर महानगरपालिकाले सिटीको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा यो समस्यासँग दैनिक जोडिन बाध्य हुनु परेको हो ।
खासमा सिटी चालकले विराटनगर बाहिरबाट आएको यात्रु हो की भनेर लिम्बुलाई फरक–फरक भाडा दर भन्ने गरेका हुन् । यसो हेर्दा उनी पूर्वी पहाडबाट कुनै काममा आएका हुन् भन्ने अनुमान गरेर जतिपनि माग्न सक्ने सम्झने गरेको हुनसक्ने उनको बुझाई छ ।
विराटनगरमा अनुमानित ७ हजार भन्दाबढी सिटीसफारी संचालनमा रहेपनि महानगरमा भने एक हजार ९ सय ५० मात्रै दर्ता भएको विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले बताए। अनुमानित गरिएको संख्या यकिन गर्न दर्ता प्रक्रिया नै नसिध्याएको महानगरपालिकाले रुट हेरेर भाडादर निर्धारण गर्नसक्ने संभावना समेत छैन । सम्पुर्ण सिटीसफारी दर्ता प्रक्रियामा ल्याउने निर्णय गरेपनि हालसम्म पुर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन।
भाडादर तोक्नका लागि सिटीसफारीलाई दर्ता प्रक्रिया ल्याउने र सिटी चालकसग छलफल गरेर मूल्य निर्धारण गरिने विराटनगर महानगरपालिकाले जनाएको छ। सिटीसफारीको भाडादर तोक्नको लागि ट्राफिक प्रहरीको नेतृत्वमा समिति गठन भएका छ । तर,पनि हालसम्म कुनै पनि किसिमको भाडादर नतोकिएको नगर प्रहरी प्रमुख पौडेलले जानकारी दिए।
सिटीसफारी दर्ता प्रक्रियामा आएपछि पुरानोलाई विस्थापित गर्ने महानगरको योजना रहेको छ। सिटीसफारीको यकिन तथ्यांक नहुँदा भाडादर निर्धारण गर्न समस्या भएको दावी छ । यस्तो अवस्थाका कारण कति दुरीमा कति भाडा बुझाउनु पर्ने भन्ने यात्रुलाई जानकारी हुँदैन । अत्यावश्क रुपमा पुग्नै पर्न ठाउँसमम पुग्न न सिटी सफारीवालाले ठग्नसम्म ठग्दै आएका छन् । कन्चंबारी चोकदेखि विराटनगर एयरपोर्टसम्मको भाडादर एक सय ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म लिने गरेको यात्रुहरुको गुनासो छ। यस विषयमा महानगरले कुनैपनि चासो देखाएको छैन।
दुरी हेरिकन ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म लिदा ठिक हो तर भाडा दोब्बर लिन नहुने सफारीचालक लक्ष्मी रिसिदेव बताउँछन्।