-सृष्टि सावित्रा
एकपटक सोध्नु छ,आमालाई हिम्मत कसले दियो ?
'बा'को दुवै हात काटिएको छ,सनाखत कसले दियो ?
म फराकिलो दायरा बनाएर यो साँघुरो बाटो हिँड्दा,
मेरो इज्जतमा औला उठाउँने इजाजत कसले दियो ?
गरिबीको उपमा दिएर मलाई गिराउन खोज्नेहरू,
अस्पताल पुग्दा सवाल गर्दैनन् रगत कसले दियो ?
फूलमाला बोकेर घाटसम्म पुगेका रहेछन् आफन्त,
मेरो मृत्यु भएको समाचार गलत कसले दियो ?
आँखाले गिरफ्तार गरेर दिल भित्र थुनेको मान्छे,
खुलेआम बजारमा देख्छु जमानत कसले दियो ?