विराटनगरका ज्येष्ठ नागरिक सेवा केन्द्र : रमाउन भजन–किर्तन, सम्झनामा बालापन

<span class='c1'>विराटनगरका ज्येष्ठ नागरिक सेवा केन्द्र</span> <span class='c2'>: रमाउन भजन–किर्तन, सम्झनामा बालापन</span>

विराटनगर । विराटनगर–१ निवासी गोबिन्द पोखरेल उमेरले ७७ वर्ष पुगे । बढ्यौली छोएपछि पोखरेलको दैनिकी फेरिए । उर्जावान् शरिर, बल र तागत घट्दै गयो तर मन भने थाकेको छैन । पोखरेल नजिकै रहेको विष्णुमाया पुस्तकालयमा दैनिक पुग्छन् । साथीभाईसँग ख्यालठ्टटा गर्दछन् । दिउँसोको समय कटाउन त्यहाँ पुग्ने उनी साथीभाईसँग पुराना कुरा सम्झन्छन् र दैनिक हुने भजन–किर्तनमा सरिक हुन्छन् ।

विष्णुमाया पुस्तकालय ज्येष्ठ नागरिक संस्थाका अध्यक्ष केशव गौतमका अनुसार पुराण लगाएर स्थापना भएको संस्थामा अहिले राज्यले सम्मान गर्नुपर्ने नागरिकको जमघट हुने गरेको बताउँछन् । उनका अनुसार दैनिक ३० जना ज्येष्ठ नागरिकले त्यहाँ आएर आफ्ना बालापन स्मरण गर्ने, जीवन भोगाईका अनुभव साटासाट गर्ने, भजनकिर्तनमा भुलिने, पत्रपत्रिका र धार्मिक पुस्तकहरु अध्ययन गर्ने गरेका छन् ।

विराटनगर–३ निवासी सरस्वती कार्की र चन्द्रदेवी आचार्य नजिकै रहेको हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजको भवनमा पुग्ने गरेका छन् । उनीहरुका लागि त्यहाँ गफगाफ गर्ने र मनोरन्जन तथा भजनकिर्तनमा रमाउने अवसर छ । समाजका अध्यक्ष प्रकाश अधिकारीका अनुसार प्रदेश सरकार र महानगरपालिकाको सहयोगमा निर्माण गरिएको भवनमा ज्येष्ठ नागरिकमैत्री वातावरण रहेको छ ।
ज्येष्ठ नागरिकहरु भेला भएर भजन किर्तन गर्ने, रमाउने थलोको रुपमा २०७७ सालमा सेवा केन्द्र स्थापना भएपछि सहज भएको कार्कीले बताइन् । मनभुलाउन र साथीसंगी भेटघाट गर्नका लागि भेला हुने ठाउँ हुँदा दैनिक जीवनका कतिपय पीडाहरु भुल्ने गरेको उनीहरुको भनाई छ ।

ज्येष्ठ नागरिकलाई सहजताका साथ दिउँसोको समयमा आफ्ना उमेरका साथीहरुसँग समय बिताउन विराटनगर महानगरपालिका भित्र १५ स्थानमा यस्ता सेवा केन्द्र रहेका छन् । सञ्चालनमा रहेका सबै व्यवस्थित नभएपनि ज्येष्ठ नागरिक भेला भएर अनुभव साटासाट गर्ने साझा थलो भएका छन् । दिनभरको एक्लोपन मेटाउन साथीसंगी भेट हुने र आफ्ना मिठामिठा बातहरु गर्ने गर्दा उनीहरुमा खुशी भरिने गरेको सुनाउँछन् ।
विराटनगर १ मा विष्णुमाया पुस्तकालय र ज्येष्ठ नागरिक हित संरक्षण मञ्च, वडा नम्बर ३ मा प्रताप आदर्श समूह गणेश मन्दिर, ६ मा ज्येष्ठ नागरिक कार्य समिति र शिव मन्दिर ज्येष्ठ नागरिक संघ, ८ मा ज्येष्ठ नागरिक समाज र प्रगति बिनायम ज्येष्ठ नागरिक सेवा समाज, ९ मा नेपाल ग्रामिण विकास समाज केन्द्र, १० नम्बर वडामा विराट सेवा आश्रम, ११ मा ज्येष्ठ नागरिक जिल्ला संघ, १६ मा ज्येष्ठ नागरिक समाजमा दिवा सेवा केन्द्र रहेका छन् ।

माहानगरमा १९ वडाहरु रहेका छन् । ज्येष्ठ नागरिकको हितको लागी हरेक वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र वा मिलन केन्द्र आवश्यक हुन्छ । ज्येष्ठ नागरिकले तितामिठा कुरा गर्न सहज वातावरण गराउने जिम्मा स्थानीय सरकारको हो । तर, विराटनगर महानगरपालिका सबै वडामा अहिलेसम्म ज्येष्ठ नागरिक सेवा केन्द्र भने स्थापना भएका छैनन् । टावरे विकास झैं नचाहिएको स्थानमा समेत सडक बत्ति जडान गर्न बजेट निकासा गर्ने महानगरपालिकाले ज्येष्ठ नागरिक प्रेरित कार्यक्रम भने ल्याउन जोड दिने नगरेको संस्थाका अध्यक्षहरुको गुनासो छ ।
विराटनगर १६ ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष प्रेमबहादुर क्षेत्रीका अनुसार आफ्नै भवन नहुँदा भाडाको घरमा समेत सञ्चालन गरिएको छ । त्यसको व्यवस्थापन र दिगोपनका लागि स्थानीय सरकारले योजना भने बनाएको छैन । तत्काल आवश्यकताका आधारमा केहि सामान जुटाउने रकमले मात्रै त्यसको व्यवस्थापन सहज नहुने क्षेत्रीले बताए ।

उमेरले डाँडा काट्दै गएपछि पुराना दिनहरुको याद फर्कन्छ । आफ्ना पुराना दिनहरुको स्मरण गर्ने र अनुभव साट्ने अवसरले ज्येष्ठ नागरिकहरुको मनलाई खुल्ला र हलुङ्गो बनाउने गर्दछ । त्यसका लागि एकिकृत रुपमा भेला भएर गफिने स्थानको जरुरी पर्दछ । राज्यले लोककल्याणकारी अवधारणामा सञ्चालन हुनका लागि आश्रित नागरिकको दैनिकी व्यवस्थापनमा चासो राख्नुपर्ने हुन्छ । तर, विराटनगरले ज्येष्ठ नागरिक हकहितका लागि नीति समेत ल्याउन नचाहेको कतिपय संस्थाका अध्यक्षहरुको आरोप छ ।

विराटनगर महानगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत मन्जु लोहनीले भने ज्येष्ठ नागरिकको हितका लागि अनुदान बजेटदेखि सेवा केन्द्र स्थापनाका लागि जग्गा समेत महानगरपालिकाले उपलब्ध गराएको जानकारी दिइन् । उनले हरेक ज्येष्ठ नागरिकको संरक्षणमा स्थानीय सरकारले चासो राख्दै आएको दावी गर्दै क्रमशः सुधार गर्नुपर्ने र विस्तार गर्नुपर्ने कार्यहरुलाई योजनामा राखेर अगाडी बढ्ने बताइन् ।

(इन्दु साह, प्रशिक्षार्थी पत्रकार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्