इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ ।
विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले रु २५ हजारसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत लिएको अवस्थामा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
मेहतालाई इनरुवा नगरपालिका–३ मा रहेको एक होलमा घुस रकम लिइरहेको अवस्थामा रु २५ हजारसहित रङ्गेहात पक्राउ गरिएको प्रवक्ता दाहालले जनकारी दिनुभयो । रासस