काठमाडौं: नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय महिला टोलीबीच बिहिबार र शुक्रबार मैत्रीपूर्ण भलिबल हुने भएको छ । एक महिनादेखि तयारीमा रहेको नेपाली टोलीले यसपटक भारतलाई हराउने दावी गरेको छ ।
‘भारतविरुद्ध खेल्नका लागि हामी सबै हिसावले तयारीमा छौं । खेलाडीको प्रदर्शनमा यसपटक निकै सुधार पनि आएको छ । दक्षिण एसियामा भारत राम्रो टोली हो तर, नेपाली खेलाडीको खेल पनि कम छैन', नेपाली टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले भने ।
प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक रिमालले नेपाली महिला खेलाडीको प्रदर्शन १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तुलनामा धेरै सुधार भएको दावी पनि गरे । सागमा नेपालले कांस्य पदक जितेको थियो । भारतका प्रशिक्षक बैशाली पहादतारीले नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने बताइन । ‘घरेलु सर्मथक र कोर्टको साथले हामीलाई दवाव हुन सक्छ तर, भारत दुबै खेलमा सहज जित निकाल्दै घर फर्कन चाहन्छ,' बैशालीले भनिन् ।
बैशालीले नेपालविरुद्धको मैत्रीपूर्ण खेलले आपसी सम्बन्धलाई सुमधुर बनाउन थप सहयोग पुग्ने पनि बताइन् । ‘खेलमा हार र जित स्वभाविक हो । यो खेलले दुवै टोलीको स्तर उन्नतीमा महत्व राख्नेछ,' उनले भनिन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने मैत्री खेल नयाँ म्याटमा खेलाइने आयोजक नेपाल भलिबल संघले जनाएको छ ।
मैत्री खेलमा लागि नेपालले १२ सदस्यीय टोलीको घोषणा यसअघि नै गरिसकेको छ । संघले एक महिना अघि १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर अन्तिम टोलीको छनोट गरेको हो । टोलीका अधिकांश खेलाडी १२ औं सागमा सहभागी खेलाडी छन् ।
विनिता बुढाथोकी कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा मन्जु गुरुङ छिन् । अन्य खेलाडीमा सरस्वती चौधरी, रेश्मा भण्डारी, नेविका चौधरी, कमला पुन, कोपिला उप्रेती, अरुणा शाही, उषा विष्ट, मनिषा विष्ट, कृपा अधिकारी र प्रतिभा माली रहेका छन् । यसैगरी भारतीय महिला टोलीको कप्तानमा पूर्णिमा एमएस छिन् ।
टोलीका अन्य खेलाडीमा टेरेन आन्टेनी, जिनी केएस, रेखा एस, निर्मल, श्रुती एम, नर्मदा पी, प्रति सिंह, अस्मिसा केएस, निशा जोसफ, अस्मिनी के र प्रियंका खेड्कर छन् । १४ सदस्यीय भारतीय भलिबल टोली बुधबार विहान नेपाल आएको हो ।