राष्ट्रिय विभूती योगमाया : अरुण नदीमा जलसमाधी, विराटनगरमा शालिक

<span class='c1'>राष्ट्रिय विभूती योगमाया : अरुण</span> <span class='c2'>नदीमा जलसमाधी, विराटनगरमा शालिक</span>

विराटनगर । बयासी वर्ष अगाडी १९९८ असार २२ गते अरुणनदीको ढंगाबाट ६८ जनाले एकसाथ जलसमाधी गरेर राणा शासन विरुद्ध विद्रोह बोलेका थिए । त्यसको नेतृत्व भोजपुर नेपालेडाँडामा जन्म लिएकी योगमाया नेतृत्वले गर्नु भएको थियो । समाज सुधारक योगमायालाई अहिले राष्ट्रिय विभूती घोषणा गरिएको छ । उहाँको शालिक विराटनगरमा बिहीबार अनावरण भएको छ ।

विश्वमा महिला हित, अधिकार तथा समानता प्राप्तिको लागि लड्ने महिलामा मार्गरेट थ्याचर, मेरी ओल्सटनक्राफ्ट, भर्जिनिया उल्फ, टोनी मोरिसन, अलिस वाकर, सिमोन द ब्युभोर, क्याथरिन म्यान्सफिल्ड, जर्मेन ग्रियर आदिको नाम आउँछ। नेपालको महिला आन्दोलनको इतिहास पल्टाउने हो भने सहाना प्रधान, शैलजा आचार्य, मंगलादेवी सिंहहरूको नाम लिइन्छ। त्यसभन्दा पनि पहिले जागरुक, संघर्षशील, सिर्जनशील र स्वाभिमानी विदुषी योगमाया न्यौपाने नेपालमा जन्मिएकी थिइन्।

मानव विवेकशील र सामाजिक प्राणी भए पनि ऊ काम, क्रोध, लोभ, मोह र अहंकार आदिको जालोमा जेलिइरहेको हुन्छ। उसलाई एकछिन भोकसमेत खप्न गाह्रो हुन्छ। दान, धर्म, कर्म, अनुदान, सहयोग त झन् धेरै कम मानिसले मात्र गर्छन्।
हालको भोजपुर जिल्लाको षडानन्द नगरपालिका— १, नेपालेडाँडा, सिम्लेमा १९२४ साल असारमा योगमाया न्यौपानेको जन्म भएको थियो। १३/१४ वर्षको उमेरमा भारतको आसामको फूलबारीमा उनको घरजम भएको थियो। पछि गीता, पुराण, वेदका सारतत्वहरूको श्रवण गर्दै जाँदा वैराग्य उत्पन्न भई घर, वास तथा परिवार, धन, सम्पत्ति आदि सबै त्याग गरी १९७३ सालमा जन्मस्थान नेपालेडाँडा आएर आश्रममा बस्न थालिन्। सबै जातजातिका मानिसलार्ई एकै ठाउँमा जम्मा गरेर भजन, कीर्तन र भक्ति गरी तत्कालीन समाजमा भएका विसंगति तथा विकृतिविरुद्ध चेतनाको ज्योति फैलाउन कोसिस गरिन्।

१९९५ साल कात्तिक २७ गते विद्रोहस्वरूप अग्नि समाधिको योजना बनाइन्, जसमा २४० जना मानिस जिउँदै आगोमा होमिन तयार भए। तर कार्यक्रम सुरु हुनुअगावै तत्कालीन सरकारका प्रमुख जुद्धशमशेरको निर्देशनमा उनीसहित करिब १५ जना महिला तथा पुरुषहरूलाई पक्राउ गरी जेलमा हालियो। तैपनि विरोधको यात्रा जारी राखिन्।
योगमायाले सबै जातजातिका मानिसलाई आफ्नो कुटीमा प्रवेश गराउँथिन् समाजमा भएका अन्याय, अत्याचार, शोषण, दमन लैंगिक भेद, छुवाछूत र असमानता जस्ता कुरीतिहरूको विरोध हुन्थ्यो। यो जातीय पद्धतिविरुद्धकोे ठूलो विद्रोह थियो। जातीय कुप्रथाविरुद्ध उनले ठूलो अभियान नै सञ्चालन गरेकी थिइन्। समाज सुधारको लागि उनले तत्कालीन शासकहरू चन्द्रशमशेर तथा जुद्धशमशेरलाई समेत बिन्ती चढाइन्।

१९९३ सालको बडादसैंको रामनवमीको दिन उनले जुद्धशमशेरलाई समाज सुधारका छब्बीसबुँदे मागसहित काठमाडौंको बज्रघरमा भेटिन्। उनका माग सत्य, भिक्षा तथा धर्मराज्यको स्थापनालगायत थिए। राणाशासकहरूद्वारा कुनै परिवर्तनको संकेत नदेखाइएकाले विद्रोहस्वरूप १९९८ असार २२ गते एकादशीको दिन योगमायासहित ६८ जनाले बिहानै अरुण नदीको ढुंगाबाट जलसमाधि लिए। वास्तवमा यो संसारकै इतिहासमा अनुपम उदाहरण हो। योगमायाले राणाशासनको अन्धकार समाज रूपान्तरण गर्न साहसिक कदम उठाइन्। आफ्नो जीवनलाई बलि चढाएर समाज परिवर्तनको लागि नैतिक दबाब दिनु साधारण कुरा पक्कै होइन।

योगमाय आशुकवि पनि थिइन्। उनले गौचरन मास्न नहुने, समाजमा छुवाछूत र भेदभाव हुन नहुने, सतीप्रथा पूर्णरूपमा निर्मूल हुनुपर्ने, दासप्रथाको अन्त्य गरिनुपर्ने, पुरोहितले कर्मकाण्ड गरी यजमानहरूलाई ठग्न नहुने, जोगी तथा सन्न्यासीहरूले गलामा रुद्राक्ष भिर्नुभन्दा सदाचारयुक्त समाज बनाउनुपर्नेजस्ता विचार फैलाइन्। ठूलासाना पाथीहरू चलाउन बन्द गरिनुपर्ने, तमसुकमा अंक थपेर साहुमहाजनहरूले निमुखा गरिबहरूलाई ठग्न नहुने, वनजंगल जोगाउनुपर्ने, काटमार गरेर हिंस्रक बन्न नहुने, समाजमा भ्रष्टाचार रोकिनुपर्ने, नारी र पुरुषबीच भेदभाव गर्न नहुने, दुःखी जनताले न्याय पाउनुपर्ने, व्यापारीहरूले सामान मिसावट गरी बेचबिखन गर्न नहुनेजस्ता साहसिक विचार राखेकी थिइन्। त्यसैले उनलाई सामाजिक एकताकी प्रतिविम्बको रूपमा लिन सकिन्छ। उनका वाणीमा समाज सुधार गर्ने उद्देश्य हुन्थे।
(विभिन्न सन्दर्भ सामाग्रीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्