काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर भएको छ ।
बिहीबार काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा निगम र नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशसँग साझेदारीका लागि हस्ताक्षर भएको हो ।
साझेदारी पत्रमा नेपाल वायुसेवा निगमको तर्फबाट निगमका अध्यक्ष युवराज अधिकारी र निजी क्षेत्रका संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन्।
साझेदारी पत्रमा हस्ताक्षरपश्चात कार्यक्रममा बोल्दै निगमका अध्यक्ष अधिकारीले राष्ट्रिय स्वाधिनता, स्वाभिमान र राष्ट्रिय अस्थित्वको लागि नेपाल वायुसेवा निगमको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक रहेको बताए ।
उनले देशमा धेरै पढेर डा.लेख्नेहरुले डेबिट र क्रेडिटको मात्रै हिसाब गर्ने तर राष्ट्रिय स्वाधिनता, स्वाभिमान मूल्य डेविट र क्रेडिट मात्रै नहुने बताए ।
उनले नेपाल वायु सेवा निगमको समृद्धिले मुलुकको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुर्याउने समेत बताए । उनले नेपालको पर्यटन क्षेत्रको अभिवृद्धिको लागि निगमले केही नगरेको भन्दै जिम्मेवारी व्यक्तिहरुले भन्ने गरेको गुनासो गरे । उनले सरकारमा बसेका जिम्मेवार व्यक्तिले निगमलाई के दिए भन्ने हेर्नुपर्ने बेला आएको बताए । निगममा रहेका ६५ वर्ष देखिका विकृति एकै दिनमा सुधार नहुने भन्दै उनले आफू निगममा अध्यक्ष भएर आएपछि भष्ट्राचार नगरेको दाबी गरे ।
कार्यक्रममा बोल्दै उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले नेपाल वायुसेवालाई युवाहरुको माझ बलियो बनाउने जिम्मेवारी आएको भन्दै पूरा गर्न तयार रहेको बताए । उनले नेपाल वायुसेवा निगमलाई सरकारको साथ र सहयोग नहुनु दुखत कुरा भएको बताए । उनले नेपालका युवाहरुले सरकारसँग केही नचाहेको तर नेपालमा नै बसेर केही गर्ने सहज वातावरण सरकारले बनाइदिन आग्रह गरे।