धनकुटा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत द्रुतगतिको इन्टरनेट सेवा सुरु गरेकी छिन् ।
सरकारका प्रवक्ता शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्क’को शनिबार उद्घाटन गरेकी हुन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित उक्त कार्यक्रममा उनले यस परियोजनाले करिब ५० लाख जनतामा सेवा प्रवाह गर्न सहज हुने बताइन् ।
सूचना र प्रविधिको क्षेत्र सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथामिकतामा राखेको छ, यस्ता विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत राखेको छ ।”
यस वर्ष सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा सेवा विस्तार गरेर ७३ जिल्लामा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा पुर्याएको मन्त्री शर्माले जानकारी दिइन् । उनले चाँडै बाँकी जिल्लामा पनि सेवा विस्तार गरिने बताइन् ।
मध्यपहाडी राजमार्गअन्तर्गतको यो योजना सञ्चारसम्बन्धी सरकारको योजनाको एक अंश भएको जानकारी दिँदै मन्त्री शर्माले यस आयोजनाले कोशी प्रदेशका बासिन्दालाई दूरसञ्चारको मूलप्रवाहमा जोड्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । रासस