विराटनगर । विराटनगरमा जारी 'मोरङ व्यापार ट्रेड एक्स्पो’ मा करिब १० करोड बढीको कारोबार भएको मेला आयोजक कमिटीले जनाएको छ ।
गत पुष ६ गतेबाट विराटनगरमा जारी एक्स्पोमा करिब १० करोड बढीको कारोबार भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रिजालले अहिलेसम्म १ लाख ६५ हजार दर्शकले अवलोकन गरेको जानकारी दिनुभयो । विराटनगर लगायत अन्य छिमेकी गाउँपालीका , नगरपालिकाका दर्शकहरुले समेत एक्स्पोलाई माया गरेर आएको रिजालले दावी गर्नुभयो । अध्यक्ष रिजालले ५५ फिट अग्लो फ्रान्सको एफिल टावरलाई मोरङ व्यापार संघको सेल्फी टावरको रुपमा परिणत गरेकोले सेल्फी खिच्नैका लागि एक्स्पोमा दर्शक तथा उपभोक्ताको भिड लाग्ने गरेको आयोजकले जनाएको छ ।
साथै एक्स्पोमा आयोजकले शुक्रबारबाट टिकट बढाउने भनिएता पनि दर्शकहरुलाई सहुलियत स्वरुप पुन १ सय नै कायम गरिएको एक्स्पो संयोजक अनिल साहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
मोरङ व्यापार संघ एक्स्पोमा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती हुदै आएको छ । यस अघि मेलिना राई, आस्था राउत, एलिना चौहान, ईलिमेन्ट व्याण्ड लगायत अन्य थुप्रै कलाकारले प्रस्तति दिईसकेका छनु भने अझै जोन चाम्लिङ राई, अस्मिता अधिकारी ,उर्गेन दोङ, सुसान्त घिमिरे एण्ड रागा बेण्ड लगायतको प्रस्तुती बाकी रहेको छ । विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा मोरङ व्यापार संघले २०८० पुस ६ गतेदेखि १६ गतेसम्मका लागि मोरङ व्यापार संघ एक्स्पो आयोजना गरेको छ । नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २३० भन्दा बढि औद्योगिक स्टल एक्स्पोमा रहेको छन् ।
सन् २०२३ को बिदाईसँगै सन् २०२४ लाई स्वागत गर्दै संघले एक्स्पो समापन गर्ने आयोजकले जनाएको छ ।