विराटनगर । प्रदेश नं १ संयुक्त ‘संघर्ष समिति’ ले मेची राजमार्ग बन्द फिर्ता लिएको छ ।
केही दिन अघि पक्राउ परेका बुलेट किराँती रिहाइ भएपछि संघर्ष समितीले यातायात बन्द फिर्ता लिएको हो ।
समितिले एमालेको मध्यपहाडी संकल्प यात्रा बिथोल्न गएको मङ्सिर ३० र पुस १ गते कोशीमा बन्द आह्वान गरेको थियो। त्यहि बेला इलामको किटेनीमा पराल बोकेको गाडीमा आन्दोलनकारीले आगो लगाएका थिए। सोही आरोपमा झापाबाट बुलेट पक्राउ परेका थिए ।
उनको रिहाइको माग गर्दै संघर्ष समितिले दुई दिन राजमार्ग बन्द आह्वान गरेको थियो। संघर्ष समितिले विज्ञप्ति जारी गर्दौ ‘पहिचानवादी नेता बुलेट किराँती रिहाइ हुने निश्चित भएकोले यही पुस १८ र १९ को लागि आव्हान गरिएको मेची राजमार्ग बन्दको कार्यक्रम आज २ बजे देखि फिर्ता गरिएको छ ।’