-स्वप्निल स्मृती
एउटा पात
बिना हावाकाे झाेँक्का
न कुनै ढुङ्गा कुनै झटाराे प्रहार
हाँगाबाट
बिल्कुल मुक्त भयाे -स्वसामार्थ्यले।
जुनीभर खेपेका आँधीका आतेस आजित छ्न्
झरीका चुटाईहरुलाई झाेर्ले !
खडेरीका खण्डहर दुःख कहाँ गए-गए
शितलहरकाे अन्तिम रात पनि हाे याे
सबै-सबैबाट तृप्त
एउटा पात
लयले भेट्नै नसक्ने लयमा
नाच्दै नाच्दै
हाँगाबाट खसिरहेछ जरातिर ।
याे मूर्दाभाष हिउँदाे याम
पल्किएर अहम्काे दुर्व्यसन
रिह्याबसेन्टरबाट उम्की आए जस्ताे छ
शिथिल घाम,
यै घाम साक्षी छ
हावाबाट समेत खसेर
हावाबाट खस्नु नै हाे माेक्ष !
एउटा पात
भूईँलाई चुमिरहेछ चुपचाप ।
फेरि फर्किआउने छ त्याे बेराेजगार वसन्त र फूलैफूल फुलाउने छ सृष्टिमा
फेरि सम्झिआउने छ वर्षात्
र उसकाे पत्तामा निहित सङ्गीत खाेज्नेछ
तर अब ऊ मृत
सायद कुनै देवात्माजस्ताे चरीकाे चुच्चाेमा उनिएर
खस्ने छ ऊ कुनै जङ्गली दहमा
या त उसकाे घाेप्टाे छातीमा
कुनै कर्मी कमिलाले झाेपडी बनाएर घरजम गर्नेछ
कुनै हात्तीकाे विशाल खुरले किच्चिए पनि
छिपिने नै छ धर्तीमा उसकाे स्पष्ट चित्र
आगाेकाे फेलामा पर्याे भने त ऊ
संसार खरानी बनाएर
नयाँ जङ्गलकाे आवाद गर्नेछ ।
म आज एउटा पातकाे मलामी गएँ
पात रहेछ जिन्दगी
पातलाई जिन्दगी नै चढाएर श्रद्धाञ्जली !