देवराज तामाङ
विराटनगर । शुक्रबार र शनिबार मात्रै काठमाडौँ, दाङ, बागलुङ, झापा र दोलखामा भएका पाँच सडक दुर्घटनामा १८ जनाको मृत्यु भयो । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा परी झन्डै १३ हजारको ज्यान गएको छ । यस्तै ८० हजारभन्दा धेरै घाइते भएका छन् ।
सवारी दुर्घटनामा अदक्ष चालक स्टेयरिङ सिटमा बसिरहेको र यसले दुर्घटना गराएको बहस पनि भईरहेको छ । दुर्घटनामा ८० प्रतिशतभन्दा बढी चालकको दोष देखिन्छ । तर, दुर्घटनाको कारणमा तिव्रगति र मादक पदार्थ सेवन जस्तै मौसम पनि कारणको रुपमा देखिएको छ । मौसमका कारण हुने दुर्घटनामा समेत कारक त चालक नै हुन्छन् । यद्यपी हिउँदमा लाग्ने उत्पात हुस्सु वा वर्षात्को झरी र हावाहुरी समेत सडक दुर्घटनाका कारण हुने गरेका छन् ।
कोशी प्रदेश, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै हुस्सुको कारण ३ वटा दुर्घटना भएका छन् । यसैगरी मौसमका कारण ७ दुर्घटना हुँदा एकजनाको मृत्यु र ९ जना घाईते भएका छन् । चालु आर्थिक वर्ष हुस्सु लाग्ने समय भर्खरै सुरु भएको छ । गत आर्थिक वर्ष २०७९/२०८० मा हुस्सुको कारण ८ दुर्घटना भएको तथ्याङ्क छ । यसैगरी मौसमका कारण २५ दुर्घटना भएका थिए । जसबाट ८ जनाको मृत्यु र ३२ जना घाईते भएका थिए । कोशी प्रदेशमै अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा हुस्सुको कारण ९, मौसमको कारण २७ दुर्घटना हुँदा ५ जनाको मृत्यु र ५५ जना घाईते भएको तथ्याङ्क छ ।
कोशी प्रदेश, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी प्रहरी नायव उपरीक्षक मोहन बिक्रम दाहाल, हुस्सु र मौसमका कारण हुने दुर्घटना कम गर्न चालक सचेत हुनुपर्ने बताउँछन् । उनका अनुसार थोरै संख्यामा हुस्सु र मौसमका कारण हुने दुर्घटना छन् । यदि हुस्सु लागेको बेला सवारी चालकले गति सिमित, इमरजेन्सी बक्ति बाल्ने, झ्यालढोका सबै बन्द नगर्ने, चालकले टल्कने कपडा लगाउने र रिफ्लेक्टर गाडीमा प्रयोग गर्ने हो भने पनि यो घट्न सक्छ । मौसमका कारण हुने दुर्घटनामा समेत हावाहुरी तथा पानी परिरहेको समयमा भरसक जंगल तथा पहाडी क्षेत्रको लामो दुरीको यात्रा गर्दा सावधानी अपनाउनु पर्ने उनको सुझाव छ ।