विराटनगर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका- ४ देब्रेबासकी प्रभा पौडेल भट्टराई सरकारी जागिर खाने मनस्थीतिमा थिइन् ।
केही वर्ष उनले लोकसेवा आयोगको परीक्षा पनि दिइन् । तर तीन वर्षअघि उनको बाटो मोडियो, लोकसेवाको तयारी छाडेर उनले धनकुटाको देब्रेबासमा नुन्थला फार्म स्टे खोलिन् । अहिले उनी उदारणीय बन्ने अभियानमा छिन् ।
उनका श्रीमान शिक्षक हुन् । श्रीमानको सल्लाहमा सात वर्षअघि उनले कृषि फार्म दर्ता गरेकी थिइन् । त्यही फार्मलाई विकास गरेर फार्म स्टे बनाएकी हुन् । उनले बनाएको फार्म स्टेमा बस्नका लागि टाढाटाढाका पर्यटक आइपुग्छन् । पाहुनाको रुपमा आउने पर्यटकलाई उनी स्थानीय अर्गानिक उत्पादन दिन्छिन्, पाहुनाका लागि कुखुरा र बाख्रा फर्म पनि सञ्चालन गरिरहेकी छन् । पाहुनाको सत्कारका लागि उनले ४-५ जनालाई पार्टटाइम रोजगारी दिएकी छन् । एक जनालाई नियमित रोजगारी दिएकी छन् ।
तीन वर्षअघि सुरु भएको फार्म स्टेलाई प्रभाले विस्तार गरिरहेकी छन् । फार्म स्टे विस्तारका लागि उनलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ । उनी ९ वर्षअघि जीवन विकासको सदस्य बनेकी थिइन् । अध्ययनपछि जागिर खाने सोच त्यागेर उद्यमी बनेकी प्रभाले समाजमा उदारणीय बन्ने लक्ष्य राखेकी छन् ।
भिडियो हेर्नुहोस् :