-जमुना पौड्याल
गरिबीको फिलिङ्गो
मुखमा च्यापेर
जीवनको गोरेटोमा
पदयात्रा गर्ने पदयात्रीहरू
झुपडीबाट देखिरहेका होलान्
साग र सिस्नुका सपनाहरू
ए , फिरङ्गी छेपाराहरू हो !
विगत र वर्तमानको
आफ्नो अनुहार
हेर ऐनामा
तिम्रा गालामा
कति पाउन्ड बगेको छ
निम्छराको रगत
तिम्रा भुँडीमा
कति क्वीन्टल
अटाएको छ भ्रष्टाचार
फिस्टेको नामको
दस्तावेज बेचेर
बनाएको महलमा
विराजमान्
महामहिमहरूलाई
भ्याइनभ्याई छ
होटल र रेस्टुरेन्टमा
बसेर मिलाउन
भाग बन्डाको खातापाता
न छ देशको चिन्ता
न छ निमुखाको पीर
विराटनगर -३