विराटनगर । मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा विद्युतीय सामाग्रीको उत्पादन गरी विद्युतको खपत वृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ।
प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले अन्तर्गत खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरूङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ्ग स्टेसनको आइतबार विराटनगरमा एकसाथ उद्घाटन गर्दै उहाँले उद्योमीहरुलाई सरकारले आवश्यक सहुलियत प्रदान गरि विद्युत प्रयोग हुने सामाग्रीको स्वदेशमा उत्पादन गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले उद्योग स्थापनाबाट प्रदेशमा रोजगारी सिर्जना भई पेट्रोलियम पदार्थको आयातबाट हुने व्यापारघाटा नियन्त्रण गर्न सहयोग पुग्ने धारणा राख्नु भयो । मुख्यमन्त्री कार्कीले भ्रष्टाचारको विषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताउँदै सरकार फरक ढंगले सुशासन कायम गर्ने कार्यमा अघि बढिसकेकाले इमानदारितापूर्वक जनताको पक्षमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
उहाँले यो सरकार जनताको आफ्नो सरकार हो भन्ने अनुभूति गराउन गरीव जनतालाई निःशुल्क खानेपानी उपलव्ध गराउन आवश्यक अध्ययन कार्य शुरु भैसकेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशका गरीव जनताका छोराछोरीलाई निःशुल्क चिकित्सक शास्त्र अध्ययनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन दिदै एक पालिका एक पशु तथा कृषि विषयमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले आगामी दिनमा सडकको पहुँच पुगेका पहाडी जिल्लामा चार्जिङ्ग स्टेशन स्थापनाका लागि बजेटको व्यवस्था गर्ने बताउनुभयो।
सो अवसरमा मन्त्रालयका सचिव अरुणकुमार झा, मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञवाली, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, यातायात व्यवसायी सरोज श्रेष्ठले प्रदेशका अन्य स्थानमा स्टेशन स्थापना गरि मुलुकको व्यापार घाटामा सहयोग पुर्याउनु पर्ने विचार राख्नुभयो । मन्त्रालयले उक्त तीन स्थानमा रु एक करोड १४ लाखको लागतमा चार्जिङ्ग स्टेशन निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।
उक्त्त स्टेशन ६० किलोवाट सिसिएस टु डिसी विद्युतीय सवारी साधन स्टेशन भएको मन्त्रालयका इन्जिनियर निश्चल पोखरेलले जानकारी दिनुभयो ।