-अन्जिता राउत
मुक्तक १
मिनेट सेकेन्ड गनीगनी तिमीलाई सम्झिन्छु
एकान्तमा एकोहोरो बनी तिमीलाई सम्झिन्छु
तिमी पो मलाई याद गर्न फुर्सद मिल्दैन भन्छौ
म त सधैं व्यस्ततामा पनि तिमीलाई सम्झिन्छु।।
मुक्तक २
बेस्सरी मुटु दुखोस् आँसु झरोस् अनि थाहा हुन्छ
गाँस निल्न खोज्दा ढुङ्गा परोस् अनि थाहा हुन्छ
अरूको असफलतामा तामझाम देखाउनेलाई
एकपटक भाग्यले छल गरोस् अनि थाहा हुन्छ।।
मुक्तक ३
हर कुराको बोध हुन्छ अभिभारा बेग्लै हुन्छ
बोली वचन मात्रै हैन व्यवहार सारा बेग्लै हुन्छ
टुप्पोबाट पलाउनेहरू हो उम्लेर पोखिन खोज्ने
फेदबाट पलाउनेहरूको त पारा बेग्लै हुन्छ।।
मुक्तक ४
गर्दै नगरी नियम पालना भित्रभित्रै सकिन्छन्
नसुनाईकन कुनै सूचना भित्रभित्रै सकिन्छन्
सारा समेट्न खोज्दा हो खास हो हल्ला मचिने
प्राय पक्षपाती योजना भित्रभित्रै सकिन्छन्।।
नेचासल्यान -५ सोलुखुम्बु