-रज्जु बिडारी रेग्मी
हो, म तिमीलाई प्रेम गर्छु
तर नझुक्किनु तिमी
गफिनु छैन घण्टौ इनबक्समा
भेटिनु छैन, तिमीसँग कुनै पार्क, रेष्टुरेन्ट
वा सिनेमाघरको पुछारको सिटमा
बाधिनु छैन एक अर्कोको अंगालोमा
न प्रेमलाई कुनै संबोधनको पिंजडा भित्र थुनेर
न्वारान गर्नुछ- प्रेमीप्रेमिकाको नाम
मलाई त म आफैंलाई भेट्नु छ
आफैंभित्र हराएको आफैंलाई खोज्नु छ
तिम्रो हौसलाको हात समाएर जिन्दगीमा
आफैंलाई भेटाउने सपनाको उडान भर्नु छ
र भेटाउनु छ,पिजडा तोडेर उडेको चरिले
अग्लो रुखको डालीमा बसेर भेटेको खुसी
तय गर्नु छ आत्मसम्मान सम्मको गन्तव्य
मेरो लागि आफ्नो खुट्टामा उभिनु पनि
सगरमाथा चढ्नु हो,विजयी बन्नु हो
तिम्रो प्रेरणाले मेरा आत्मविश्वासलाई फक्राउन सकु
अँध्यारो गुफामा हराएका मेरा अस्तित्वलाई
गुम्सिएका रहरलाई तिम्रो प्राञ्जलले फुलाउन सकूँ
तिम्रो आँखाको सागरमा टल्केका विश्वासको प्रकाशले
मेरो लक्ष्य सम्मको अध्यारो बाटोमा अगाडि बढ्न सकूँ
आफैंले आफैंलाई नढाटी भन्नुपर्दा
साच्चै प्रेम गर्छु म तिमीलाई
कुनै सम्बन्धको परिधिभित्र नबाधिकन
कुनै स्वार्थको जालमा नफसिकन
यदि तिमीले मेरो प्रेमलाई स्वीकार्छौ भने
यहीँ प्रेम प्रस्तावमा लालमोहर हानेर जाऊ
मेरो सपनाको मार्गनिर्देशक बनेर आउ र
भरिदेउ एउटा कठपुतलीभित्र प्राण
धार्के,धादिङ