विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरु प्राप्त हुने बताउनुभएको छ ।
विराटनगरस्थितसत्यनारायण माविले ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले प्राविधिक शिक्षाले मात्रै देश विदेशमा रोजगारीका अवसर प्राप्त हुने उल्लेख गर्नुभयो । उहाँले डिग्रीका सर्टिफिकेट देखाएर जागिर खाने दिन गएको बताउनुभयो ।
“चारवटा विषयमा डिग्री गरे पनि हातमा सीप नभए रोजगारी पाउने अवस्था छैन,” उहाँले थप्नुभयो, “प्राविधिक ज्ञान र हातमा सीप भए विश्वका जुनसुकै कुनामा गए पनि रोजगारी सजिलै पाउन सकिन्छ ।” मेयर अंग्रेजी भाषा र कम्प्युटरसम्बन्धी राम्रो ज्ञान भए रोजगारी पाउन सकिने उहाँको भनाइ थियो । डाक्टर, इन्जिनियर र पाइलट नै हुनुपर्छ भन्ने नभएको बताउँदै मेयर कोइरालाले आफ्नो रुचीअनुसार अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रहसमेत गर्नुभयो ।
मेयर कोइरालाले विद्यालयले पछिल्लो समय अंग्रेजी माध्यमबाट पठन पाठन र प्राविधिक शिक्षालाई समेटेर अगाडि बढेकोमा प्रशंसा गर्नुभयो । मेयर कोइरालाले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि महानगर सधैं तत्पर रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालय जनता र समुदायको विद्यालय भएको चर्चा गर्नुभयो । सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि लान सकेमाात्रै शिक्षाको विकास हुने उहाँको भनाइ थियो ।
विद्यालयले वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यालयले व्यवस्थापन समितिका पूर्वअध्यक्ष मदनकुमार श्रेष्ठ, पूर्व प्रधानाध्यापक तुलाराम गुरुङ, पूर्वकर्मचारी रामेश्वरप्रसाद साह र शिवनारायण मण्डललाई सम्मान गरेको छ । मेयर कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेललेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक पुरुषोत्तम गुरागाईले विद्यालयको वार्षिक प्रगति र आगामी योजना प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए ।