विराटनगर । नेपाल स्काउट विराटनगर महानगरको स्थानीय आयुक्तमा स्काउटर नवीन पहाडी नियुक्त भएका छन् ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पहाडीलाई आइतबार स्थानीय आयुक्तमा मनोनित गरेका हुन्।
नेपाल स्काउट ऐन २०५० (केही संशोधन) र नेपाल स्काउट नियमावली २०७७ मा नेपाल स्काउट महानगर स्थानीय परिषद्को निर्वाचनबाट निर्वाचित भएका परिषद् सदस्य मध्येबाट सम्बन्धित पालिकाको प्रमुखले एकजनालाई स्थानीय आयुक्त चयन गर्ने व्यवस्था रहेको छ ।
पहाडीसहित १८ जना गत माघ २२ गते सम्पन्न भएको निर्वाचनबाट विराटनगर महानगरपालिका स्थानीय परिषद सदस्यमा निर्वाचित भएका थिए।
महानगर स्थानीय परिषद्मा पुरूषतर्फ पहाडीसहित प्रल्हाद राजवंशी, राजकुमार देव, निश्चल श्रेष्ठ, भोजराज खनाल, मुकुन्दराज ढकाल, चन्द्रमोहन यादव, राजनारायण चौधरी र तुलसी घिमिरे निर्वाचित भएका थिए ।
महिलातर्फ विदिशा भट्टराई, पुष्पा तुलाधर, दीपशिखा ढकाल, सावित्रा निरौला, रमाकुमारी आचार्य रिजाल, खुश्बु घिमिरे रिजाल, कविता बराल, मनमाया रिजाल र शोभाकुमारी धमला निर्वाचित भएका हुन् । मेयर कोइरालाले पहाडीलाई नेपाल स्काउट नियमावली २०७७ परिच्छेद ६ दफा २१ को उपदफा (१) को खण्ड (क) बमोजिम स्थानीय आयुक्तमा मनोनित गरेका हुन् ।
पहाडीले अब स्थानीय परिषद् सदस्यहरु मध्येबाट आफ्नो कार्यसमिति चयन गर्ने छन् । स्थानीय परिषद्को कार्यकाल ४ वर्षको हुने जनाइएको छ ।