प्रेम देवान
विराटनगर । राजस्थानको खाटुमा भगवान कृष्ण र बर्बरिकको पूजा गर्ने तीर्थस्थलका रुपमा खाटु श्याम मन्दिर प्रसिद्ध छ । त्यस्तै हनुमानको अर्को रुपमा राजास्थानकै सालासरमा सालासर बालाजी मन्दिर स्थापित छ । श्री श्यामभक्तहरू ती मन्दिरहरूलाई तीर्थस्थलका रुपमा मान्दै आएका छन् । नेपालबाट पनि राजस्थानको खाटुमा भगवान कृष्ण र बर्बरिकको पूजा गर्न धेरै श्रद्धालुभत्तजनहरु जाने गरेका छन् ।
श्याम भगवान प्रतिको छुटै आस्था र विश्वासले गर्दा पनि होला विराटनगरमा रहेका धेरै श्रद्धालुभक्तजनहरु राजस्थानको खाटुमा भगवान कृष्ण र बर्बरिकको पूजा गर्न जाने गरेका छन् । त्यही मन्दिरमा स्थापित गरिएका ३ वटा मूर्तिहरू राजस्थानबाट विराटनगर ल्याइएका हुन् । बिहीबारबाट औपचारिक रुपमा विराटनगरमा श्री श्याम मन्दिरको प्राण प्रतिष्ठा भएसँगै आफुहरु हर्षित बनेका उर्मिला अग्रवालले बताईन् ।
विराटनगर २ स्थित बन्जरा चौकमा निर्माण गरिएको श्री श्याम मन्दिर भारतको राजस्थानमा रहेको खाटु श्यामको एउटा शाखा हो । श्याम मन्दिरमा प्रतिष्ठापित भगवानको मूर्तिहरूको धार्मिक विधिअनुसार प्राण प्रतिष्ठा गरी श्यामभगवानको दर्शन गर्नको लागि ढोका खुल्ला गरिएको छ । विराटनगरका श्यामभक्त अनुरागीहरूले श्री श्याम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमलाई भव्य बनाउन महिनौदेखि लागी परेका थिए । झण्डै १८ वर्षअघि निर्माण थालिएको श्याम मन्दिरमा एकै साथ तीन मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । खाटु श्याम, सालासर र शिवको मूर्ति प्रतिष्ठापन र प्राण प्रतिष्ठा गरिएको छ । विराटनगरमा श्रीश्याम मन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्र हैन हिन्दुस्थान मै दोस्रो — तेस्रो स्थानको रहने सक्ने श्री श्याम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राकेश बंशलले बताए ।
‘यस किसिमको अहिले सम्म नेपालमा भएको थिएन बंसालले भने, श्याम परिवारले विराटनगरमा यस किसिमको मन्दिर बनोस भनेर ठुुलो अपेक्षा राख्नुभएको थियो आज त्यो पुरा भएको छ ।’ श्रीश्याम भगवान कृष्णकै एक अवतार हो । श्याम भगवानका भक्तजनहरुले यसलाई आफ्नै हिसावले आस्था अनि विश्वासको रुपमा लिएका छन् । जीवनमा सबैसंग हार खाई सकेर अन्तमा शयाम मन्दिरको चरण पुग्यो भने आफ्ना माग पुरा हुने विराटनगरका भक्तजन सुरेश पोखरेलले बताए ।
गएको फागुन ३ गते राजस्थानबाट ल्याइएका मूर्तिहरू सुरुमा विराटनगर–१८ स्थित श्रीकृष्ण गौशाला सदनमा राखिएको थियो । त्यहाँ दुई दिन विश्राम गरेर शोभायात्रासँगै ५ गते शनिबार मूर्तिलाई मन्दिरमा प्रतिष्ठापन गरिएको थियो । उक्त मूर्तिको प्राण प्रतिष्ठाको विधि आइतबारदेखि नै बनारसबाट आएका ६ जना पण्डितहरूले सुरु गरेका थिए । तर बिहीबारबाट औपचारिक रुपमा मन्दिरको प्राण प्रतिष्ठा गरिएसँगै यसले पर्यटकिय धार्मिक र सामाजिक हिसावले पनि ठुलो महत्व राख्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बंसालले आवर विराटनगरलाई जानकारी दिए ।
करिब ३ कट्ठमा फैलिएको मन्दिरमा श्याम भगवानको दर्शन मात्र नभई भारत र नेपालको विभिन्न स्थानबाट आउनेहरु धर्मालब्धीहरुलाई बस्न र खानाको लागी धर्माशालाको पनि व्यवस्था गरिएको छ । मन्दिरमा अहिले सम्म के कति लगानी भयो कुनै याकीनभने छैन । सकेको आउनेले सहयोग गर्छन् बंसालले भने, मन्दिर निर्माणको लागि ४ सय भन्दा बढी आम मानिसले सहयोग गरेको अनुमान छ । तर मन्दिर निर्माणको लागि भने उद्योगी एवम समाजसेवी विकास चौधरीले ठुलो सहयोग गरेको बंसालको भनाई छ ।