बहुचर्चित नेपाली सांगीतिक समूह 1974 AD ले यसै हप्ता युएईको दुई भिन्न शहरमा आफ्नो प्रत्यक्ष प्रस्तुति दिने भएको छ । एभरेष्ट मिडियाको आयोजनामा ‘हजार सपना’ नाम दिइएको उक्त कार्यक्रम आगामी १६ सेप्टेम्बर शुक्रबार दुबई स्थित म्याजेष्टिक होटलमा साँझ ६ बजेबाट र १७ सेप्टेम्बर शनिबार आबुधाबीको ले मेरिडियन होटलमा साँझ ६ बजे शुरु हुनेछ ।आबुधाबीको कार्यक्रमको लागि भोग इन्टरटेन्टमेन्टले सहकार्य गरेको छ ।
प्रवास र विशेषतः खाडी मुलुकमा विभिन्न संघ संस्थाहरुले नेपालबाट कलाकार बोलाएर विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आइरहेका भएतापनि केवल गायकलाई मात्र बोलाउने र ट्र्याकमा गाउनुपर्ने वाध्यताले दर्शकहरुले सामुहिक प्रत्यक्ष प्रस्तुति (लाइभ ब्याण्ड शो)को आनन्द लिन नपाइरहेको अवस्थामा एभरेष्ट मिडियाको यो थालनीलाई युएईमा रहेका संगीत प्रेमी नेपालीहरुले खुलेर सह्राहना गरेका छन् । नेपाली गीत संगीतलाई व्यवसायिक बनाउने र प्रवासमा रहेका नेपालीहरुलाई पनि ‘ब्याण्ड शो’ म्युजिकबाट बिमुख नराख्ने उदेश्यले यस प्रकारको कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइएको एभरेष्ट मिडियाका संयोजक सुमन उदयले बताउनुभयो ।साथै स्थापित ब्याण्डहरुसँग युएईमा रहेर संघर्षरत प्रतिभाशाली ब्याण्ड या गायकलाई अवसर दिनुपनि आफ्नो अर्को उद्देश्य रहेको उहाँले दोहोर्याउनुभयो ।जस अन्तर्गत यसपटक दुबई शोमा 1974 AD सँगै प्राथा र प्वाइन्ट अफ भ्यु (POV) ब्याण्डकोपनि प्रस्तुति रहनेछ भने डिजे फरे र राजेशले नेपाली धुनमा दर्शकलाई नचाउने छन् । ‘आबुधाबी शो’को लागि सहकार्य गरेको भोग इन्टरटेन्टमेन्टका संयोजक प्रनभ वलीले प्रथम पटक आबुधाबीमा आयोजना भएको मन्त्र ब्याण्डको उत्साहजनक सफलताले आफूहरू हौसिएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।उक्त शोमा स्थानीय 601 ब्याण्डको पनि प्रस्तुति रहनेछ । स्मरण रहोस् यही समूहले गत जुलाई महिनामा पनि दार्जिलिङको चर्चित मन्त्र ब्याण्डको लाइभ शो सम्पन्न गरेको थियो ।