विराटनगर । मलेसियामा कार्यरत रहेको अवस्थामा पीडित भई अलपत्र भएका नेपाली श्रमिकहरुको उद्धार गर्दै आएको पिएनसिसिले बेबारिसे अवस्थामा रहेका नेपालीहरुको उद्धार गरि स्वदेश फिर्ता पठाउने अभियान सुरु गरेको छ ।
नेपाली राजदूतवाससंगको सहकार्य साथै एनआरएन, प्रवासी नेपाली मञ्च, प्रवास नेपाली विभाग लगायतका संघ संस्थाहरुसँगको समन्वयमा पिएनसिसिले उक्त उभियान सुरु गरेको हो । सोही अभियान अन्तर्गत बेबारिसे अवस्थामा रहेका ५ जना नेपालीहरुको उद्धार गरि मार्च २१ को उडानबाट स्वदेश फिर्ता पठाएको हो ।
यस अभियान अन्तरगतको पहिलो चरणमा स्वदेश फिर्ता हुनेमा सुनसरीका बिष्णु बहादुर मगर, नवलपरासीका दीनेश फेवाली, तेह्रथुमका बाबुराम लिम्बू, कैलालीका डगराम चौधरी र लमजुङका कर्ण बहादुर गुरुङ रहेका छन । उद्धार गरिएका मध्ये बिष्णु बहादुर मगरको पिएनसिसि र कर्ण बहादुर गुरुङको तमु समाजले नेपाल फर्किदा लाग्ने सम्पूर्ण खर्च ब्यहोरेको हो । त्यसैगरि डगराम चौधरी, दीनेश फेवाली र बाबुराम लिम्बूको लागि अध्यागममा लाग्ने खर्च क्रमशः प्रवास नेपाली विभाग र नेपाल मगर संघ र तेह्रथुम सेवा समाजले ब्यहोरेको हो भने हवाई टिकट क्रमशः पिएनसिसि, थारु कल्याणकारी सभा र प्रवासी नेपाली मञ्चले उपलब्ध गराएको हो ।
पिएनसिसि मलेसियाका प्रतिनिधि पूर्ण लिम्बूका अनुसार उद्धार गर्दा बिमारी अवश्थाका विष्णु बहादुर मगर नेपाली होटलमा अलपत्र भेटिएका थिए । उनलाई उपचारको लागि हस्पिटल पुर्याएको भएपनि केहिदिनको उपचार पश्चात हस्पिटलले सडकमा छाडेको र पुनः उद्धारगरि सेल्टर हाउसमा ल्याउनु परेको थियो ।
त्यस्तै दीनेश फेवाली र कर्ण बहादुर गुरुङलाई पूर्ण रुपमा सडकमा रहेको अवश्थाबाट उद्धार गरिएको र मानसिक बिरामी डगराम चौधरी अनि बाबुराम लिम्बूलाई अलपत्र अवश्थाबाट उद्धार गरिएको हो । उद्धार गरिएका सबै पीडितहरुलाई एनआरएनए द्धारा सञ्चालित सेल्टर हाउसमा आश्रय दिईएको थियो । यात्रा अनुमति पत्रका लागि नेपाली राजदूतवासले नि:शुल्क उपलब्ध गराएको हो भने राहदानी हुनेहरुको हकमा दूतवासका कर्मचारी जय प्रकाश गिरीले कम्पनीसंग समन्वय गरि उपलब्ध गराएको हो । सेल्टर हाउसमा बस्नेहरुको खानपिनको बन्दोबस्त पिएनसिसिले गरेको हो ।