यस वर्ष संस्कृत विश्वविद्यालयको पञ्चाङ्ग प्रकाशन नहुने

<span class='c1'>यस वर्ष संस्कृत विश्वविद्यालयको</span> <span class='c2'>पञ्चाङ्ग प्रकाशन नहुने</span>

काठमाडौँ । विगत १८ वर्षदेखि नियमित प्रकाशन भइरहेको नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)को पञ्चाङ्ग (पात्रो )यस वर्ष प्रकाशन नहुने भएको छ ।

‘नेपाल संस्कृतविश्वविद्यालय पञ्चाङ्गम्’ नामक पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र नेसंविबीच समन्वय नहुँदा विसं २०८१ देखि प्रकाशनमा नआउने भएको हो ।

प्रत्येक वर्ष पात्रो प्रकाशनका लागि ‘पञ्चाङ्ग प्रकाशन समिति’ मार्फत जिम्मेवारी दिने गरेको नेसंविले यसपटक समिति गठन नगर्दा पञ्चाङ्ग निर्णायक समितिले प्रकाशनको अनुमति दिएको छैन ।

विश्वविद्यालयका उपकूलपति, रजिष्टार र शिक्षाध्यक्षले चासो नदिएका प्रकाशन समिति गठन नभएको भन्दै पञ्चाङ्ग प्रकाशनबाट विमुख हुनु विडम्बनाको विषय भएको वाल्मीकि विद्यापीठ ज्योतिष विभाग प्रमुख डा. धनेश्वर नेपालले बताउनुभयो । विश्वविद्यालयका उपकुपतिलाई समिति गठन गरी कामको जिम्मेवारी तोक्न पत्र पठाए पनि कुनै सुनुवाइ नहुँदा पात्रो प्रकाशन अन्योल बनेको उहाँको भनाइ छ ।

पञ्चाङ्गको गणना, ग्रहगतिको अध्ययन, अनुसन्धान तथा निष्कर्षसहितको अध्यापन गराउने विश्वविद्यालयले विगत १८ वर्षदेखि प्रकाशन गर्दै आएको पात्रो नियमित प्रकाशन हुनुपर्ने भन्दै यसका लागि आपसी समन्वय गर्नुपर्नेमा प्रा. डा. नेपालले जोड दिनुभयो ।

संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने पञ्चाङ्ग समितिले प्रकाशनको अनुमति नदिँदा विश्वविद्यालयको पात्रो प्रकाशन नभएको बताउनुभयो । “पञ्चाङ्ग प्रकाशन नेसंविको प्रतिष्ठाको विषय भएकाले चाँडो निर्णय गरियोस् भनी लिखित पत्रमार्फत पञ्चाङ्ग विकास समितिलाई अनुरोध गरेका थियौँ तर जवाफ आएन”, उहाँले भन्नुभयो, “नेसंवि स्वायत्त र स्वतन्त्र संस्था भएकाले समितिसँग स्वीकृति लिनु आवश्यक नपर्ने हो ।”

नेसंविका शिक्षाध्यक्ष माधव अधिकारीले विश्वविद्यालय स्वतन्त्र संस्था भएकाले पञ्चाङ्ग निर्णायक समितिले पात्रो प्रकाशनको अनुमति दिनुपर्ने भन्दै अनुमति नपाएकाले नियमित प्रकाशन रोकिएको बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले पञ्चाङ्गमा एकरुपता कायम गराउने उद्देश्यले सबै सङ्घसंस्था तथा स्वायत्त निकायलाई पनि अनिवार्य अनुमतिको व्यवस्था गरिएको बताउनुभयो । नेसंविबाट अनुमतिका लागि कुनै पहल नभएको उहाँको भनाइ छ ।

“सबै मिलेर पञ्चाङ्गमा शुद्धता र एकरुपता ल्याउन सहकार्य गरौंँ भनेका हौंँ, विश्वविद्यालयलाई कुनै कारबाही गरेका छैनौँ”, ढुङ्गेलले भन्नुभयो, “नेपाल सरकारले समितिलाई दिएको जिम्मेवारी अनुसार समितिले काम गरिरहेको छ । उहाँहरुको प्रकाशनलाई हामीले रोकेका होइनौैँ ।”

विकास समितिका कार्यकारी निर्देशक ढुङ्गेलका अनुसार सरकारको संस्कृति मन्त्रालयअन्तर्गत गठित विकास समितिले मुलुकभर प्रकाशन हुने पात्रो तथा भित्तेपात्रोमा एकरुपता ल्याउन सबै प्रकाशकले समितिसँग स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार नेसंविले प्रक्रिया अगाडि बढाउनुपर्नेमा त्यसो नगरेको उहाँले बताउनुभयो ।

ज्योतिषीय गणना प्रयोग हुने पाँच अङ्गलाई पञ्चाङ्ग भनिन्छ । काल अर्थात् समय गणनाको विधिलाई सूक्ष्म गणना गरी तयार पारिएको दस्तावेज नै पात्रो हो । पात्रोमा सर्वसाधारणले बुझ्ने गरी ग्रहहरुको गणना र समय निर्धारण गरिएको हुन्छ ।

संस्कृत विश्वविद्यालय र पञ्चाङ्ग निर्णायक विकास समितिबीच समन्वय नहुँदा १८ वर्षदेखि निरन्तर प्रकाशन भइरहेको नेपाल संस्कृत विश्वविद्यालय पञ्चाङ्ग’ अल्पायुमा परेको पात्रो प्रयोगकर्ता बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्