विराटनगर । एमाले र माओवादी केन्द्रबीच पाँच बुँदे निर्णय भएको छ ।
दुई पार्टीको कोशीस्तरमा गरिएको बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको हो । जसमा बैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचनका एमाले उम्मेद्वार सुहाङ नेम्वाङलाई बिजयी गराउन एमाले र माओवादीले संयुक्त रुपमा सहमति गरेको छ ।
नेकपा एमाले मोरङको विराटनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दुई पार्टीका अध्यक्षद्वय घनश्याम खतिवडा र हर्कबहादुर नेम्वाङ (मिक्सो)ले सार्वजनिक गरेको निणर्यमा उपनिर्वाचन मार्फत बामपंथी शक्तिबीचको सहकार्य र भविश्यमा सुदृढ कम्युनिष्ट पार्टी एकताको आयामको रुपमा जग तयार गर्ने उल्लेख छ ।
यस्तै स्थानीय मनोविज्ञानमा आधारित रहँदै सामूहिक रुपमा अग्रसरता लिने, स्थानीय नेता कार्यकर्ताको मनोबल उठाउन र पार्टी पंक्तिमार्फत शक्ति संचय गर्न समूह बनाएर लाग्ने, निर्वाचन क्षेत्रसँग जोडिएका छिमेकी जिल्ला र पालिकाका मतदातालाई आकर्षित गर्ने, जिल्ला स्तरमा चुनाव सहयोग संयन्त्र गठन गर्ने र त्यसमार्फत सूर्य चिन्ह ध्वजाबाहक उम्मेद्वार सुहाङ नेम्वाङको पक्षमा मतदान गर्न सार्वजनिक अपिल गर्ने दुई पार्टीले निणर्य गरेका हुन् ।
इलाम २ को निर्वाचनमा एमालेलाई माओवादी केन्द्रले सघाउने यसअघि नै निणर्य भइसकेको छ । सो निर्वाचन क्षेत्रमा काँग्रेसबाट डम्बर खतिवडा, रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह लिम्बूलगायतले प्रतिस्पर्धा गरिरहेका छन् ।