विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै शतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा आज बिहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका हिर्काए । अहिलेसम्म भएको मिल्स क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी रहेका छन् ।
टस जितेर ब्याटिङ रोजेको विराटनगरले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१४ रन बनाएको हो ।
जसमा विराटनगरका ओपनर देव खनाल १० बलमा ३१ रन मात्रै बनाएर अलआउट भए । यसअघिको खेलमा उनले ३० बलमा सतक कटाएका थिए । त्यसैगरी इमरान नजिरले १७ बलमा ३६ रन पारी खेल्दा सन्दिप खत्रीले ९ बलमा ३५ रनको योगदान दिए । सुनसरीका समिर तिम्सिना र भुपाल लुईटेलले समान २ –२ विकेट लिए । सोनु मण्डल र गौरव कटुवालले समान १–१ विकेट लिए । विराटनगरले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको सुनसरीले १६.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो । सुनसरीका सोनु मण्डलले २२ बलमा २५ रन, आकाश सर्राफले १५ रन र सुमन गतराजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
विराटनगरका बलर बिपिन खत्री, शोजराज भट्ट र नारायण जोशीले समान २–२ विकेट लिए ।
पहिलो खेलको प्लेर अफ द म्याच अभिषेक पाठक घोषित भए । अहिले दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लब बिच भइरहेको छ ।