विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् ।
महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो ।
शिविरको औपचारिक रुपमा समापनसमेत गरिएको छ । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेललगायतको उपस्थितिमा शिविरको औपचारिक समापन गरिएको थियो । स्वास्थ्य जाँचअन्तर्गत फिजिसियनतर्फ २ हजार ३ सय २१ जनाले सेवा लिँदा हाडजोर्नीतर्फको सेवा ८ सय ६१ जाले लिएका छन् ।
त्यस्तै स्त्री तथा प्रसूतितर्फ ६ सय ७३ जना, बालरोगतर्फ ६ सय ४६ जना, मुख तथा दाँतको जाँच २ सय ५१ जना र छाला तथा यौनरोगतर्फ ४ सय ३६ जनाले जाँच गरेको संयोजक यादवले बताउनुभयो । त्यसैगरी भिडियो एक्स-रे १ हजार ३ सय ७२ जनाले गराउँदा इसीजी ६ सय ५६ जनाले गराएका छन् । पाठेघरको जाँच ५ सय ७० जना, ल्याब सेवा लिनेको संख्या १ हजार २ सय ५२ जना रहेको छ । शिविरमा आएका मध्ये १ सय ९६ जना शंकास्पद क्षयरोगीहरुको खकार संकलन गरी परीक्षण गरिएको छ । जसमध्ये एकजनामा बहुऔषधि प्रतिरोधी क्षयरोगी पहिचान भएको छ ।
स्वास्थ्य शिविरमा सबैभन्दा बढी वडा नम्बर १९ मा ४ सय २२ जनाले सेवा लिएका छन् भने सबैभन्दा कम वडा नम्बर १० मा १ सय १८ जनाले सेवा लिएको स्वास्थ्य शिविरका सम्पर्क व्यक्ति भोलानाथ तिम्सिनाले जानकारी दिनुभयो । महानगरपालिकाले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको मेयर नागेश कोइरालाले बताउँदै आउनुभएको छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको समेत कोइरालाले बताउनुभयो । यसबाहेक १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन भइरहेको छ ।