विराटनगर । शुक्रबार बिहान ११ बजेदेखि देशभरको इन्टरनेटमा समस्या देखिएको छ ।
वर्ल्डलिङ्क, भायानेट लगायतका प्रमुख सेवाप्रदायक कम्पनीको इन्टरनेट सेवामा समस्या देखिएको हो। यसअन्तर्गत ग्राहकले इन्टरनेट नचल्ने तथा स्लो हुने समस्या भोगिरहेको गुनासो गरेका छन् ।
यस विषयमा ग्राहकलाई जानकारी पठाउँदै भायानेटले अपस्ट्रिम प्रदायकबाट समस्या आएको जनाएको छ । त्यस्तै वर्ल्डलिङ्कले पनि अपस्ट्रिम नेटवर्कमा समस्या देखिएको भन्दै सूचना निकालेको छ ।
सुनौलीमा भारतीय अपस्ट्रिम सेवाप्रदायक भारती एयरटेलको अप्टिकल फाइबरमा चुहावट हुँदा सेवा प्रभावित भएको र त्यसको अहिले मर्मतको कार्य भइरहेको एक नेटवर्क सेवाप्रदायकका प्रतिनिधिले जानकारी दिए।