मोरङको पथरी स्थित आइतबारेमा बुधबारबाट सुरु छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगितामा सेभेन स्टार क्लब इटहरीले विजयी सुरुवात गरेको छ । नेपाली राष्ट्रिय टाेलीका खेलाडी तथा विराटनगरमा जन्मिएका सिद्धान्त लोहनीको शतकीय पारीको सहयाेगमा सेभेट स्टारले उद्घाटन खेलमै विर्तामोड क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको सेभेन स्टारले सिद्धान्तको १ सय २७ रनको विष्फोटक पारिको मदतमा १९ दशमलब ३ ओभरमा अल आउट हुँदै २ सय १२ रनको उच्च योगफल तयार पारेको समाचार हिमशिखर टेलिभिजनले अाफ्नाे वेबसाइटमा लेखेकाे छ ।
४५ बल खेलेका सिद्धान्तले १२ छक्का र ८ चौका सहित उक्त विशाल रन हानेका हुन् । उनी सँगै सेभेन स्टारका सुमन खत्रीले २६ रन बनाए भने साे इनिङमा विर्तामोडका विपुल खरेलले ४ ओभरमा १९ रन दिएर सर्वाधिक ३ विकेट लिएका थिए ।
सेभेन स्टारकाे २ सय १३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको विर्तामोडले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदा मात्र १ सय १० रन बनाउन सकेकाे थियाे। विर्तामोडका लागि नामलिङ याक्तेनले १६ र मिलन कार्कीले १५ रन बनाएका थिए । सेभेन स्टारका मनोज मण्डलले सर्वाधिक ३ विकेट र अजय राजवंसीले ४ ओभरमा मात्र २ रन खर्चेर २ विकेट लिए । खेलको म्यान अफ द म्याच सेभेन स्टारका सिद्धान्त लोहनी घोषित भए ।
तस्विर तथा सुचना स्राेत: हिमशिखर टेलिभिजन