विराटनगर। विराटनगरमा गर्मी बढ्दै गएको छ । बिहानैदेखी लाग्ने चर्को घामले गर्दा बजारमा आम सर्वसाधरणको बजारमा घट्दो छ । विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।
टंन्टलापुर घामले गर्दा विराटनगरसहित तराईका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ । तातो तापक्रमले गर्दा विराटनगरवासी यति बेला गर्मीले छल्न कता जाने सोच्न थालेका छन् । गर्मी छल्न मानिसहरु विभिन्न उपाय अपनाइरहेका हुन्छन् । घामबाट बच्नको लागि छाता ओढेर हिंड्ने, सनग्लास, सनस्क्रिन लगाउने, पूरा बाहुला भएको खुल्ला लुगा लगाउने गरिरहेका हुन्छन् । बढ्दो गर्मीमा शीतल हुने धेरै विकल्प मध्ये एक हो पौडी । पौडनु मनोरञ्जनसँगै स्वस्थ हुने तरिका पनि हो । यसलाई खेलको एउटा फरक विधाका रुपमा पनि लिइन्छ । स्वीमिङ पुलमा बच्चादेखि वृद्धसम्म रमाइरहेका देखिन्छन् । किनकि अहिले स्वीमिङ पुलमा हरेक उमेर समूहका लागि छुट्टाछुट्टै गहिराइ कायम गरिएको हुन्छ । पौडी खेल्न राम्रोसँग जान्ने व्यक्ति जति गहिराइमा पुगे पनि भयो, तर नजान्ने व्यक्ति आफू नडुब्ने गहिराइसम्म खेल्न सक्छन् । स्वीमिङ नजान्नेले ट्युब लिएर पनि खेल्न सकिन्छ ।
कहाँ कहाँ छन् स्वीमिङ पुल ?
पछिल्लो समय विराटनगरका विभिन्न होटल तथा स्कुलहरुले स्वीमिङ पुल राख्ने गरेका छन् । बढ्दो गर्मी छल्नका लागि स्वीमिङ पुल धाउनेहरु प्रशस्त भेटिन्छन् । विराटनगरका विभिन्न ठाउँमा रहेका स्वीमिङ पुलमध्ये ड्रिम गार्डनमा रहेको स्वीमिङ पुल पनि एक हो । जहाँ पौडी खेल्न आउनेहरुको भीड नै लाग्ने गरेको छ । विराटनगरको पुष्पलाल चोकदेखि करिब ५०० मिटर पूर्व रहेको गार्डेनमा पौडी साथै घुम्ने पार्कको सुविधा भएकाले यस ठाउँमा मानिसको विशेष चहलपहल हुने गरेको छ । दैनिकी आम सर्वसधारणहरु विराटनगरदेखी त्यस ठाउँमा स्वीमिङका लागि पुग्ने गरेका छन् । स्वीमिङ गरेको बालबालिका र अन्य उमेर वर्गका मानिसलाई २ सय ७५ रुपैयाँ रहेको ड्रिम गार्डनले जनाएको छ।
यता विराटनगर ८ हाटखोलामा रहेको फन एण्ड फुड भिलेजमा पनि स्वीमिङ खेल्ने पारखीहरुको लागि उपयुक्त छ । विशेष गरी गर्मीयाममा विराटनगरवासीहरु स्वीमिङका लागि आउने गरेको फन एण्ड फुडका संचालक भुपाल राईले जानकारी दिए । स्वीमिङका लागि मेम्बरसिप समेत रहेको साथै दुई सय ५० सय रुपैयाँ ठुलालाई र साना बालबालिकालाई दुई सय रुपैयाँ रहेको उनले जानकारी दिए । अहिले यो गर्मीको मौसममा विराटनगरवासीहरु गर्मी छल्नको लागि स्वीमिङ पुलमा जानेका गरेका छन् । दिउँसोको समय भन्दा बढी बिहान र बेलुकीको समयमा पौडी खेल्न आउने गरेको राईले बताए ।
यता रोडशेषमा रहेको विग होटलमा स्वीमिङको लागि एक हजार २ सय रुपैयाँ प्लस भ्याट लाग्ने विग होटलका मेनेजर उद्धव भट्टले जानकारी दिए । एक महिनाको मेम्बरसीपको ७ हजार रुपैयाँ ,३ महिनाको २० हजार रुपैयाँ र जोडी ३ महिनाको ३५ हजार रुपैयाँ मेम्बरसीप शुल्क रहेको विग होटलले जनाएको छ। एयरर्पोट लाईनको होटल एशियाटिकमा चार सय रुपैयाँ र एक महिनाको मेम्बरसीप शुल्क ६ हजार रुपैयाँ रहेको होटल एशियाटिकका संचालक प्राञ्जल भट्टराईले जानकारी दिए ।
यता विराटनगरका स्कुलहरुले पनि पछिल्लो समय स्कुलहरुमा स्वीमिङ पुलहरु राख्ने गरेका छन् । विराटनगरको सेन्ट जोसेफ स्कुल र एभरेष्ट कलेजमा स्वीमिङ पुल रहेको छ । एभरेष्ट कलेजले सर्वसाधारणको लागि बिहान र बेलुकाको समयमा स्वीमिङ गर्नका लागि एक महिनाको मेम्बरसिप ५ हजार रुपैयाँ रहेको एभरेष्ट कलेजले जनाएको छ। हाल आफ्नो विद्यार्थीहरुले मात्रै स्वीमिङ गर्न पाउने व्यवस्था रहेको सेन्ट जोसेफ स्कुलले जनाएको छ।
अहिले विराटनगरको गर्मी छल्नको लागि मुख्य गन्तव्य भनेको भेडेटार र भेडेटार चोकदेखि करिब नौ किलोमिटर दुरीमा रहेको नमस्ते झरना हुने गर्छ। विराटनगरका स्वीमिङ पुलहरु विराटनगरवासीको लागि पहिलो रोजाई बन्दै छ ।