इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले पुष्पलालचौक–ठुलोमिलसम्मको दुरीमा सडक खाल्डा मर्मत प्रक्रिया अगाडी बढाएको छ । विराटनगर–३ र १ क्षेत्रमा पर्ने एक हजार ७९५ मिटर दुरीमा सडक खाल्डा कालोपत्रे गर्न एक करोड ३२ लाख ३५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
महानगरपालिका योजना पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाका अनुसार नगरपालिका स्तरीय योजनामा राखेर कालोपत्रे सडक मर्मतका लागि निर्माण कम्पनीसँग सम्झौता भएको छ । आर्थिक वर्ष २०८०/२०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गत बैशाख २४ गते रजनी कन्ट्रक्सन कम्पनीसँग निर्माण सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०८१ चैत्र ३० गतेसम्मलाई योजना सम्पन्न हुने मिति तय गरिएको छ ।
सडक खण्ड मर्मत सम्भार लागि विराटनगर महानगरपालिकाले १ करोड ८६ लाखको ९३ हजार रुपैयाँ लागत अनुमान गरेको थियो । त्यसका आधारमा बोलपत्र आह्वान गरिएकोमा दशवटा निर्माण कम्पनीले लागत प्रस्ताव पेस गरेका थिए । जसमध्ये रजनी कन्ट्रक्सनले १ करोड ३२ लाख ३५ हजार रुपैयाँँमा कबोल गरेको इन्जिनियर थापाले जानकारी दिएका छन् ।
महानगर भित्रका सडकमा बढी भार बोकेका मालवहाक सवारी गुड्न मिल्दैन । तर, निर्माण सामाग्री बोकेका टिपरको ओहोरदोहोर हुने पुष्पलालचौक–ठुलोमिलको दुरीमा सडक भत्कन थालेको थियो । कुन सडकमा कति भार क्षमता छ भन्ने यकिन नगरी जथाभावी मालवहाक सवारी गुडाउने समस्या रहेको थापाको भनाई छ । यसका लागि निगरानी गरेर नियन्त्रण गर्ने वा त्यसको उचित व्यवस्थापन गर्नका लागि रुट यकिन हुनुपर्ने उनी बताउँछन् ।
पुष्पलाचौक–ठुलोमिलसम्मको सडकमा खाल्डा छन्, तर ठुलोमिलदेखि तीनपैनीको बीचमा धेरै समस्या छैन, थापाले भने–ठुलोमिलबाट मालवहाक सवारी कन्चनबारी डाइभर्ट हुन्छन । उनले मालवहाक सवारीका लागि निश्चित रुट तय गर्न जरुरी रहेको बताए । विराटनगर महानगरपालिका भित्रका सडकको भारवहन ८ देखि १० टन मात्रै रहेको छ । सडकमा खाल्डाखुल्डी धेरै भएको भन्दै सेवाग्राहीले गुनासो गरिरहेका थिए । सम्झौताका आधारमा निर्माण कम्पनीले बैशाख २८ गते महानगरपालिकाले निर्माण कार्यदेशको पत्र बुझिसकेको छ ।