विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलस्थित एक घरमा आगलागी हुँदा एक करोडको क्षति भएको अनुमान गरिएको छ । दिलबहादुर कार्कीको काठले बनेको दुई तले घरमा आगो लागेको थियो । त्यसपछि दुई वटा गाई गोठ, भान्छा घर र भण्डारघरसहितका संरचना जलेर नष्ट भएको हो ।
प्रहरीका अनुसार बुधवार साँझ ६ः ४५ बजेदेखि सुरु भएको आगलागी दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा मध्यरातमा नियन्त्रणमा लिइएको थियो। रतुवामाई, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।
आगलागीका क्रममा गाईगोठबाट गाई गोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक बद्री दाहालले आगलागीको कारण खुल्न नसकेको बताएको छ ।