जताततै रोकिन्छन् बस, यात्रु तान्न दौडन्छन् सहचालक

<span class='c1'>जताततै रोकिन्छन् बस, यात्रु</span> <span class='c2'>तान्न दौडन्छन् सहचालक</span>

विराटनगर । राजमार्गमा सार्वजानिक सवारीले यात्रु लिने होडमा तिव्र गतिसँगै जताततै बस रोकेर सडकमा हिड्नेहरुलाई सहचालकहरुले तानातान गर्दा दुर्घटना जोखिम बढ्ने गरेको बताएका छन् । मोरङको बेलबारी–३ स्थित बेलबारी बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सार्वजानिक सवारी चालकले सडक अनुशासन पालना नगर्ने आरोप लगाएका हुन् ।

सवारी चालक र सहचालकलाई अनुशासन पालना गराउने जिम्मेवार निकाय ट्राफिक प्रहरीको भूमिका कमजोर रहेको समेत उनीहरुको आरोप थियो । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको सहकार्यमा ओबी मिडियाले आयोजना गरेको दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना विषयक छलफल कार्यक्रममा वक्ताहरुले सडक प्रयोगमा सर्वसरोकार अनुशासित हुन जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता एवं ३ नम्बर वडाका अध्यक्ष योगेन्द्र सुवेदीले नागरिकहरुले आफनो जिम्मेवारी भुल्न नहुने बताएका थिए । उनले सडक अनुशासन पालना गर्नका लागि लेन प्रयोगमा बढी जोड दिनुपर्ने बताएका थिए । अध्यक्ष सुवेदीले राजमार्ग मापदण्ड र सडक ऐन अनुसार हटिया तथा मेला लगाउन नपाउने व्यवस्था रहेको बताए । राजमार्गसँगै जोडिएर लाग्ने हटियाहरु हटाउन जरुरी भईसकेको बताएका छन् । महेन्द्र राजमार्गको सुनसरी लौकही–झापा काँकडभिट्टासम्मको सडक विस्तार भएर एशियन हाईवेस्तरमा विकास हुन लागेकोले त्यसले केहि सहज हुनसक्ने बताएका थिए ।

ट्राफिक पोष्ट बेलबारीका प्रहरी नायव निरीक्षक लोकबहादुर दियालीले सडक अनुशासन पालना नगरेकै कारण जरिवाना तथा सजाय गर्ने प्रहरीलाई आलोचना हुने गरेको गुनासो गरेका थिए । ‘अरुले सडक अनुशासन पालना नगर्दा ट्राफिक कारवाही सहि लाग्छ, आफैंले पालना नगरेर कारवाही गरे गलत गरेको ठहर्छ’ दियालीले भने–विकास भईरहेको छ, क्षति पनि बढिरहेको छ, कानुन अनुसार सडक सुरक्षा कायम गराउने कार्य गरिरहेका छौं ।

बेलबारीका स्थानीय हेमसागर ढकालले हाईवेमा यात्रु तानातान गर्ने प्रवृत्ति रोकिनुपर्ने बताए । उनले बस पकेट क्षेत्र भन्दा बाहिर सवारी रोक्न नपाउने नियम कडाईसँग कार्यन्वयन गर्नुपर्ने र यात्रुले पनि सडक अनुशासनमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । उनले राजमार्ग क्षेत्रमा बिहान ९ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि विद्यालयका बालबालिका केन्द्रीत गरेर ट्राफिक प्रहरीको ड्यूटी खटिनुपर्ने माग गरेका छन् । हाईवेमा जेब्रा क्रसिङ र ट्राफिक फर्निसिङ अनिवार्य हुनुपर्ने तथा ट्राफिकले लाइसेन्स मात्रै चेक गर्छ भन्नुभन्दा पनि सचेतनाका काम गर्नतर्फ केन्द्रीत हुनुपर्ने बताएका थिए ।

स्थानीय सबिना बराइलीले भित्री सडकमा टिफर आतंक रहेको बताएकी थिइन् । उनले टिफरको तिव्र गति र प्रेसर हर्नले घरमा सुतिरहेका नानीहरुलाई सुत्न नदिएको गुनासो गरेकी हुन् । भित्री सडकमा बढी लोड बोकेर हिड्ने टिफरले खाल्डा बनाउँदा दुर्घटना जोखिम बढ्ने गरेको उनको भनाई थियो ।
अटो चालक संघका महेश सुवेदीले बेलबारीमा यातायात प्रालिको नाममा कमाउ धन्दा चलिरहेको बताए । उनले यातायात कार्यालय र बेलबारी यातायात प्रालिबीचको सेटिङले अटो रोड पर्मिट सेण्डिकेट कायम भएको बताए । प्रालिको चिठ्ठी बिना यातायात कार्यालयले रोड पर्मिट नदिने गरेको र चिठ्ठी लिनका लागि पाँचसय रुपैँया बुझाउनु पर्ने अवस्था रहेको बताएका छन् ।

अर्का भक्तबहादुर बिश्वकर्माले कालोपत्रे हिउँदमा सिपेज हुने गरेको गुनासो गर्दै दुर्घटना बढेको बताए । यसैगरी चुडामणी अधिकारीले बस पकेटमा मात्रै ‘पिक अप एण्ड ड्रप आउट’ हुनुपर्ने सुझाव दिएका थिए । स्थानीय कृष्ण गुरुङले ट्राफिक सचेतना र लाइसेन्ससँग सम्बन्धित विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका थिए । दुर्गा सुवेदीले ट्राफिक पोष्टहरु थपेर जनशक्ति बढाउन सके दुर्घटना कम हुने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्