विराटनगर । विराटनगर–२ मा रहेको जनता नमूना माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीले स्कुललाई आवश्यक पर्ने सामग्री सहयोग गरेका छन् ।
विस २०४६ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले स्कुलमा एक कार्यक्रमबीच अत्यावश्यक सामग्री प्रदान गरेका हुन्।
पूर्वविद्यार्थी स्वप्रेरित भई विद्यालयका लागि केहि गर्नु पर्छ भन्दै आफूबीच सक्दो सहयोग जुटाई जनता नमुना स्कुललाई विभिन्न सामग्री हस्तान्तरण गरिएको पुर्व विद्यार्थी कौशर खानले बताए । गर्मीबाट पिल्सिएका र स्वच्छ – खानेपानीको पहुँचबाट टाढा रहेका विद्यार्थीहरूका लागि पूर्व विद्यार्थीहरूले पंखा, खानेपानीको ट्याङ्की र डस्टबीन र कार्पेट हस्तान्तरण गरेका छन् । ३१ थान पंखा, २ हजार लिटरको खानेपानीको ट्याङ्की र ९ थान डष्टबीन र कार्पेट स्कुलका प्राचार्य ईश्वर घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजविक्रम साहलाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण समारोहमा बोल्दै कोशी प्रदेशका सांसद तथा पुर्व विद्यार्थी भीम पराजुलीले शिक्षामा दान कहिले खेर नजाने बताए । सांसद पराजुलीले मेयर हुँदा जनतालाई पोखरीया स्कुलसँग मर्ज गर्ने कुरा उठे पनि पूर्व विद्यार्थीका नाताले सो प्रस्ताव नमानेको स्मरण गरे । पूर्व विद्यार्थी भएको नाताले स्कुलको उन्नती र प्रगतीका लागि आफ्नो तर्फबाट जस्तो सुकै योगदान गर्न तत्पर रहेको पराजुलीले उद्घोष गरे।
पूर्व विद्यार्थी पराजुली, कौसर खान, सुशिला रेग्मी, इन्दु सुवेदी, चिरञ्जीवी नेपाल, दिनेश राजवंशी, सुमन सापकोटा, सुदिप बराल, शैलेन्द्र श्रेष्ठ , संजय न्यौपाने लगायतको उपस्थित थियो ।
कुनै बेला विराटनगरको पहिचान र शानको रूपमा उभिएको जनतामा हाल भौतिक सामग्रीको अभाव छ । अव्वल विद्यालयका रूपमा गनिने जनतामा शिक्षक, कर्मचारीहरूको आन्तरिक विवाद, किचलो र व्यवस्थापन समितिको कमजोर व्यवस्थापनका कारण अध्ययन अध्यापन ओरालो लागेको थियो । सयौं विद्यार्थी पढ्ने विद्यालय ३. दर्जन विद्यार्थीमा सिमित हुँदै गएको थियो । विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष मनोजविक्रम साहको अगुवाईमा जनतामा सुधारका प्रशस्त कार्य हुँदा अवस्था सुधारोन्नमुख रहेको छ । विद्यार्थी संख्या पनि अहिले बढ्दो क्रम छ । यो आजको यो उदाहरणीय कामबाट अन्य सामुदायिक विद्यालयका पूर्व विद्यार्थीहरुले पनि सिक्नु जरुरी देखिन्छ ।