चितवन । चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रु मध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले दिएको पछिल्लो विवरणअनुसारै काठमाडौंबाट गौरको लागि छुटेका बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौंको लागि छुटेका बसमा २७ गरी ६५ जना यात्रु थिए । तीनजना यात्रु पौडिएर बाँच्न सफल भए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने बताइन्छ ।
शुक्रबार भएको दुर्घटना पछि अहिलेसम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल रहेका छन् ।
यता दुर्घटना ग्रस्त बस अझै भेट्न सकिएको छैन । आज चौथो दिन पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको छ । आइतबार चितवन आउनु भएका गृह सचिव एकनारायण अर्यालले बस खोज्न अब भारत वा चीनबाट विशेष उपकरण ल्याउने तयारी भइरहेको जानकारी दिएका थिए । गृह मन्त्रालयकाअनुसार धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको छ । खोजीका लागि विदेशी उपकरण प्रयोग भइरहेको छ । पानीभित्र खोज्न सकिने सोनार उपकरण, वाटर ड्रोन र पाइपलाइन इन्सपेक्सन लगायतका अत्याधुनिक उपकरण प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सोनार उपकरणले पानीको गहिराइमा वस्तु पत्ता लगाउन सहयोग गर्छ भने वाटर ड्रोनको सहयोगले नदीभित्रका दृश्य हेर्न सकिन्छ । यी प्रविधि विश्वका अन्य देशमा निकै प्रभावकारी मानिन्छन् । यी उपकरण विदेशमा नबग्ने पानी अर्थात् समुद्रमा परीक्षण भएका हुन्छन्, तर नेपालमा बग्ने पानी अर्थात् नदी खोलामा प्रयोग गर्दा प्रभावकारी नभएको सशस्त्र प्रहरीले जनाएको छ ।