इशु पन्त
एक बृद्ध व्यक्ति, जोकोहीले झट्ट हेर्दा पनि ठूलै बाधामा अल्झिएको जस्तो देखिने । विराटनगर–७ मिलन चोकदेखि पश्चिमतर्फ लागिरहेका थिए । यी व्यक्ति मोरङका ग्रामथान गाउँपालिका निवासी ७० वर्षीय चौथो मुखिया हुन्।
मुखियाले भने, छोराले बुढेसकालमा रोग लागिरहँदा पनि आफैँ काम गरेर खाने भनेर तीतो बचन लगाए, भान्सा छुट्याए । उनका दुई छोरी र एक छोरा छन् । छोरी विवाह भएर गएपछि छोराले एउटै घरमा भान्सा अलग्याएका छन् । त्यहि भएर उनी आफ्नो हातमुख जोर्न ग्रामथानबाट विराटनगरसम्म हिँडेर काम खोज्दै आउने गर्दछन् ।
मुखियालाई वर्षौदेखि नशा सम्बन्धी रोग लागेको छ। उनी हिँडिरहँदा पनि थरथर काँपिरहेका हुन्छन् । ‘औषधी गर्न इन्जेक्शन लगाउन हिँडेको, शरीरको दुखाई कम गर्न दैनिक २५ रुपैयाँ पर्ने इन्जेक्शन चाहिन्छ’ उनले भने।
मुखिया भाथिगञ्जदेखि हाटखोला हुँदै मिलन चोकसम्म मालीको काम गर्छन्। सधैं बगैंचामा काम नहुने भएकाले उनलाई सहयोगका रूपमा वरपरका चिन्ने मान्छेले ५०–१०० रुपैयाँ दिने गर्छन्। ग्रामथानदेखि त्यति लामो बाटो सधैं हिँड्दै आउँछन्। हरेक दिन मुखिया आफ्नो घरबाट ३ किलोमिटर पैदल हिँडेर आफ्नो काम गर्ने ठाउँमा आउने बताउँछन्। जहाँ उनले प्रतिदिन ३ सय रुपैयाँ कमाउँछन्। दैनिकी ४५ मिनेटको बाटो हिँडेर आउँदा समेत उनले सधैं भने काम नपाएर कहिले १०० र कहिले त रितो हात लिएर फर्किने गरेको सुनाए ।
मुखियाको जीवन संघर्षको कथा हो। उनी बस्ने घरबाट काम खोज्दै आउन एक घण्टा बढी लाग्छ । तर, गाडीमा आउँदा आफूलाई पैसा नबच्ने भएकाले हिड्नु परेको सुनाउँछन् । छोरी वैवाहिक बन्धनमा बाँधिएर आफूभन्दा टाढा भएको र छोरोले आफैँ गरेर खानु भनेपछि जीवन चलाउन कठिन भएको गुनासो गरे । आफ्नो उमेर ढल्कदै जाँदा आफू कमजोर भएको र काम गर्न शक्ति नपुग्ने स्थितिमा पुगेको सुनाए । उमेर हुँदा छोराछोरीका लागि मरिहत्ते गरें, अहिले आफ्नो अवस्था कमजोर भयो ।