विराटनगर । सुशील कोइराला फाउण्डेशनले प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान पुर्याउने पाँच जना महिला नेतृहरुलाई सम्मान गरेको छ ।
तीजका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा फाउण्डेशनले पाँच जना महिलालाई सम्मान गरेको हो ।
‘संस्कृति जोगाऔं, आत्मियता बढाऔं’ नाराका साथ फाउण्डेशनले आयोजना गरेको तीज विशेष कार्यक्रममा शान्ता रिजाल, नन्दकुमारी हुमागाई, तेतरी राजवंशी, प्रभा आचार्य र चम्पा राईलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रजातान्त्रिक आन्दोलनको अग्रणी मोर्चामा रहेर आन्दोलनलाई सफल बनाउन महत्वपूणर् भूमिका निर्वाह गरेको निष्कर्ष निकाल्दै सम्मान गरिएको प्रतिष्ठानकी अध्यक्ष मृदुला कोइरालाले जानकारी दिइन् ।
पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइराला, फाउण्डेशनकी अध्यक्ष कांग्रेस नेतृ मृदुला कोइराला, सचिव दीपक चापागाईंलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, भीम पराजुली, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विराटनगर महानगरपालिकाका पूर्वउपमेयर इन्दिरा कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा गायक रामा मण्डल, सुमित खड्का र जुनु गौतमले तीजसम्बन्धी गीत प्रस्तुत गरेका थिए ।