-लक्ष्मी रायमाझी
म नियालिरहन्छु,
घरिघरि देखिरहन चाहन्छु
आफ्नै मुहारको कान्ति
ऐनाभरिको क्यानभासमा ।
तर अनभिज्ञ छु
खै: के खोजिरहेछु म आफूमा ?
पाएसम्म
भेटेसम्म
हेरेरै नअघाउने
के छ रहस्य ?,
नभएको थप सुन्दरता ?
कि दिन प्रतिदिन
मलाई गिज्याउँदै
मेरै नजिकबाट टाढिँदै
उमेरको घेरा नाघ्दै
आफैँलाई छाडेर परपर भाग्दै गरेको
मेरो यौवन ?
म किन डराउँछु
विचलित भएर आफैँसँग हँ ?
निर्धक्क हुनै सक्दिनँ आफ्नोपनमा,
दिनानुदिन प्रकट हुँदै गरेको आँखाछेउका
यी चाउरी धर्साहरूले
भयभीत बनाउँछ मेरो मन ।
शायद
म खोजिरहन्छु आफूलाई
सिसाको सतहमा
उस्तै
दुरुस्तै
कि खै:
केही नयाँ पाउछु कि भनेर ।
थप चाहनाको
अपेक्षामा हेरिहन्छु
पटकपटक
धेरै पटक
आफ्नै उत्सुक अनुहार
त्यही स्थिर ऐनामा ।
विराटनगर