दशैं अगाडी नै जुवा खालमा प्रहरी, बट्टी बुझाएका जुवाडे भन्छन्–के ताल ?

<span class='c1'>दशैं अगाडी नै जुवा खालमा प्रहरी,</span> <span class='c2'>बट्टी बुझाएका जुवाडे भन्छन्–के ताल ?</span>

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा मोरङको ग्रामथान गाउँपालिका–४ स्थित कटहरामा पेशेवर जुवाको खाल सञ्चालन भईरहेको सूचना पुगेपछि शनिबार राती झ्याप्पै प्रहरी पुग्यो । राती ८ बजे कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलिले खालमा छापा हानेर १८ लाख ४९ हजार ५०० नगदसहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लियो । ग्रामथानको कटहरामा दुईवर्ष अगाडी समेत ७ लाख रुपैँयासहित सातजना जुवाडे नियन्त्रणमा परेका थिए । कटहरामा संस्थागत रुपमै जुवा खाल सञ्चालन हुने गरेको छ । जसमा प्रहरीसँगको सेटिङमा बट्टी बुझाउने चलन छ । छवर्ष अगाडी समेत ३ लाख रुपिँयासहित नौ जुवाडे पक्राउ परेका थिए ।

मोरङमा जुवाडेका संस्थागत खाल सञ्चालन हुँदा प्रहरीसँगको सेटिङमा हुने गरेको छ । कटहरामा घरमा हुने जुवा यस पटक महिला समूहको सामुदायिक भवनमा भईरहेको थियो । यो भवनमा दैनिक जस्तो जुवाको खाल सञ्चालन हुने गरेको दावी गरिन्छ । स्रोतका अनुसार एकवर्षको १५ लाख रुपैँया प्रहरीलाई बुझाएर सञ्चालन हुने यो खाल नामुद जुवाडेले सञ्चालन गरेका थिए । ‘हामीले आठापाँचा जुवा खेल्ने गर्दछौं, त्यो वापत प्रहरीले पैसा लिन्छ तर पैसा लिएर खालमा छापा हान्ने के ताल हो ?’ मोरङमा विराटनगर–१२ स्थित प्रदेश प्रहरी कार्यालय नजिकै श्रेष्ठको घरमा जुवाको अड्डा चल्ने गरेको छ । त्यहाँ प्रहरीले बारम्बार निगरानी गरेको भन्दै हटेपछि अहिले विराटनगरका रेष्टुरेन्ट र होटलमा दिनभरको भाडा बुझाएर जुवा हुने गरेको छ ।

एक होटल व्यवसायीका अनुसार पूर्व कर्मचारी, प्रहरी, बैंकर, डाक्टरले कौडा भन्दा धेरै तास खेल्छन् । उनीहरुले भाडा तिरेरै दिनरात बसेर सुविधाजनक रुपमा खेल्ने गरेका छन् । तर, ठूला जुवाडेहरुले घरमा भए घर, सामुदायिक भवन या त जंगलमा समेत टहरो बनाएर जुवा खाल सञ्चालन गर्दै आएका छन् । उर्लाबारीमा भने त्यहाँका केहि होटलहरुमा १० बजेपछि जुवा चल्ने गरेको छ । पथरी, रंगेली र रतुवामाई, ग्रामथान, सुन्दरहरैंचामा अहिले पनि खाल चलिरहेको छ । सबैभन्दा सुरक्षित केराबारीको जुवा खाल चल्ने गरेको बताइन्छ ।

ग्रामथान–४ कटहरा टोल स्थित महिला समुहको सामुदायिक भवन बाँसको टाठी र टिनको छानाले बनाइएको छ । जसको समेत भाडा जुवाडेहरुले बुझाउने गरेका थिए । यस पटक प्रहरीले मोरङ ग्रामथान–४ का ५५ बर्षीय अहिलाल माझी, ग्रामथान–४ का ५९ बर्षीय शिवनारायण माझी, सुन्दरहरैंचा नगरपालिका–१ का ४५ बर्षीय जय किश्वर साह, सुन्दरहरैचा–१ का ५० बर्षीय जनक कुमार मास्के, सुन्दरहरैचा–३ का ३० बर्षीय प्रताप भन्ने ईच्छा राई, लेटाङ नगरपालिका–९ का ३८ बर्षीय लोकनाथ सापकोटा, झापा दमक नगरपालिका–१० का ४६ बर्षीय ऋतुबर्ण नेम्वाङ, सुनसरी धरान उपमहानगरपालिका–१५ का ४५ बर्षीय युबक राई र महोतरी गौसाला नगरपालिका–१ का ४५ बर्षीय महेश साह छन ।

प्रहरीले जुवाको खालबाट कौडा १६ थान, तास १२ बुक, पाउडर २ बट्टा, कपडाको झोला २ थान, मोबाईल १५ थान र नगद १८ लाख ४९ हजार ५ सय रुपैया समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान भई रहेको छ । तर, जुवा ऐनमा हुने सजाय सामान्य भएका कारण पक्राउ परेकाहरुले पनि खासै धेरै वास्ता गर्दैनन् । उल्टै प्रहरीले पक्राउ गरेर उनीहरुलाई घाटा भएको बुझाई जुवाडेहरुले राख्ने गरेका छन् । कटहरामा जुवा हुन्छ भन्ने कुरा प्रहरीका धेरै अधिकारीहरुलाई थाहा भएपनि छापा हान्ने संयोग कसरी मिल्यो भन्ने कुरामा जुवाडेहरु समेत छक्क परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्