- सुरेश कुमार पाण्डे
अरविन्द केजरीवालको राजीनामा पछि आम आदमी पार्टीले दिल्लीको लागि तेस्रो महिला मुख्यमन्त्रीको रूपमा आतिशीलाई दिएको छ। उनलाई मंगलबार
सन् २०२४/०९/१७/को बिहानै देखि केजरीवाल निवासमा बसेको आम आदमी पार्टीको बैठकमा सर्वसम्मतिले संसदीय दलका नेता पारित गरिएको खबर आएको छ।
आतिशी केजरीवालको विश्वासिलो र सक्रिय मध्यकी मानिन्छिन्। अरविन्द केजरीवाल जेल गएपछि पनि जिम्मेवारी निर्वाह गर्दै आएकी छन्। उनी अन्ना हजारेको आन्दोलनसँगै संगठित भएकी हुन्।
केजरीवालले मुख्यमन्त्री शीला दीक्षितलाई हराएका थिए। उनी कांग्रेस पार्टीकी नेता थिइन्। जो दिल्ली विधानसभामा दोस्रो महिला मुख्यमन्त्रीको रूपमा सबैभन्दा लामो समयसम्म रहेकी थिइन्। त्यो भन्दा पहिले भाजपाको तर्फबाट पहिलो मुख्यमन्त्री हुने महिला सुषमा स्वराज हुन् जसले सन् १९९८मा दुई महिनाको लागि भएपनि मुख्यमन्त्रीको जिम्मा लिएकी थिइन्। अहिले पनि दिल्लीको आगामी विधानसभाको चुनाव सन् २०२५ मा हुने निश्चित छ। सरासर फेब्रुअरीमा हुने चुनावलाई २०२५को अन्तिमतिर नोभेम्बरतिर सार्ने कुराहरू पनि उनीहरूको बीचमा चलिरहेको छ।
आतिशी पंजाबी राजपूत परिवारसँग सम्बन्ध राख्छिन्। उनी २०२०को चुनावमा पहिलो पटक विधायिका निर्वाचित भएकी हुन्। त्यो भन्दा पहिलेको पूर्वी दिल्लीबाट चुनाव हारिन्, भाजपाका गौतम गम्भीरले हराएका थिए।
आखिर आम आदमी पार्टीका जुनसुकै व्यक्ति सरकारमा मन्त्री मुख्यमन्त्री आएपनि अरविन्द केजरीवालकै नीति र निर्देशनमा काम गर्नेछन्। किनकि पार्टी प्रमुख अरविन्द केजरीवाल नै हुन्। सिसोदियाले पनि कुनै पद नलिने बताएका छन्। अरविन्द केजरीवाल पछि मनीष सिसोदिया पार्टी प्रमुखको रूपमा रहेका छन्।
आखिर केजरीवालले किन राजीनामा दिए त? एउटा जननिर्वाचित र जनप्रिय मुख्यमन्त्रीको रूपमा रहेका केजरीवाल सत्ता बाहिर हुनुपर्ने कारण किन भयो? यो आम जनताको चासोको विषय हो।
केजरीवाल एउटा समाजसेवकको रूपमा भ्रष्टाचारको विरुद्धमा दिल्लीको रामलीला मैदानमा समाजसेवी अन्ना हजारेसँगै आन्दोलनमा उत्रिएका थिए। त्यो बेला दिल्लीमा कांग्रेसको सरकार थियो र शीला दीक्षित मुख्यमन्त्री थिइन्। भ्रष्टाचार र दिल्लीमा भएको बलात्कारको विरोधमा उनीहरू आन्दोलित भएका थिए। तर सरकारले उनीहरूलाई पटक पटक चुनौती दिँदै भन्यो, "सडकमा बसेर आन्दोलन गर्न सजिलो छ त्यो जसले पनि गर्न सक्छ। हिम्मत छ भने चुनाव लड् र सरकार बना।" यही चुनौतीलाई स्वीकार गरेर अरविन्द केजरीवाल राजनीतिमा आएका थिए। त्यो सन् २०१२ तिरको कुरा हो जब उनले आम आदमी पार्टी स्थापना गरेर कुचो उचाले। उनी पहिलो पटकको चुनावमै २०१३को निर्वाचनमा शीला दीक्षित, जो तीन पटकसम्मको कार्यकालमा बतौर मुख्यमन्त्री रहेकी थिइन्, उनलाई २५,८६४ मतले हराएका थिए। त्यस पटकको निर्वाचनमा उनको पार्टीले ७० मा २८ सीट हासिल गर्यो। अर्थात् पहिलो पटकमै उनले अल्पमतको सरकार बनाए र केजरीवाल ३४ वर्षीय युवा मुख्यमन्त्री बने।
तर उनलाई विभिन्न आरोपहरू समेत लगाएर बदनाम गर्न थाले। उनलाई देशद्रोही, नास्तिक आदिका आरोप लगाएर जनतामा बदनाम गर्ने प्रयास भयो। केन्द्रमा भाजपाको सरकार रहँदा पनि उनीहरूको दिल्लीमा जित हुन सकेको थिएन। उनीहरूले अरविन्द केजरीवाललाई हराउन ठूलो प्रयास गर्दा पनि पछि २०१५को चुनावमा दिल्लीका ७० सीट मध्ये ६७ सीटमा पार्टी विजयी भयो। उनी दोस्रो पटक दिल्लीका मुख्यमन्त्री बने। पछि २०२०को विधानसभाको निर्वाचनमा पनि उनले दिल्लीमा सरकार बनाए। केजरीवाल माथि जति भाजपा कांग्रेसले दमन गरे तर उनी पुरै देशमा फैलिन थाले, उनको पार्टी झाँगिँदै गयो। विगत पंजाबको विधानसभामा पनि केजरीवालले जीत हासिल गरेर सरकार बनाएका छन्। त्यसको अलावा गोवामा पनि दुई सीट हासिल गरेका छन्। अहिले हरियाणाको चुनावमा ९० विधानसभाको लागि उम्मेदवार उठाउने भनेका छन्। उनको त्यो गृह प्रदेश हो। उनी गाजियाबादमा रहँदै आए तापनि हरियाणाको सिवानी उनको गाउँ हो।
अहिले उनी आफ्नै प्रदेशमा राजनीति गर्ने दाउमा देखिएका छन् भन्ने चर्चा चलिरहेको पनि छ। १६ अगस्त सन् १९६८मा हरियाणाको सिवानीमा जन्मिएका र आईआईटी खड्गपुर गरेका छन्। उनले सामाजिक राजनीतिक क्षेत्रका कयौं पुरस्कारहरू पनि पाएका छन्।
उनले सन् २०१५ देखि दिल्ली मुख्यमन्त्रीको सिटमा रहेर दिल्लीका जनतालाई २०० युनिटसम्म विद्युत् नि:शुल्क, पानी नि:शुल्क, र बसमा यात्रा समेत नि:शुल्क गराएका छन्।
उनले दिल्लीलाई पूर्ण राज्यको दर्जा दिनुपर्छ भनेर माग पनि गरे तर भाजपा सरकारले दिएन। यद्यपि त्यो माग पहिले भाजपाले नै गरेको माग थियो। जब सरकारमा कांग्रेस थियो त्यो बेला भाजपाले दिल्लीलाई पूर्ण राज्यको दर्जा दिने माग गर्यो तर अहिले ऊ आफै केन्द्रमा छ र आम आदमी पार्टीको दिल्लीमा सरकार छ।
अरविन्द केजरीवाल २१ मार्चमा कथित मदिरा नीति घोटालासँग जोडिएको मनी लन्डरिङ केसमा जेलमा पुगेका थिए। अहिले उनी जमानतमा छुटेका छन्। केही महिनादेखि सरकारलाई विपक्षले घेर्ने केही आधारहरू फेला पारेको छ। भाजपाले थोरै पनि केजरीवालको कमजोरी फेला पार्छ भने त्यो मौका गुमाउने छैन। पहिलो आबकारी नीतिमा कथित घोटाला, त्यसपछि मुख्यमन्त्री आवासको सजावट गरेको खर्च आदिलाई लिएर आवाज उठाउँदै आएका छन्। अहिले मदिराको नीतिमा घोटालाको आरोपमा उनलाई जेल समेत भयो। अहिले उनी दश लाख धरौटीमा छुटेका छन्। तर अहिले उनी र मनीष सिसोदिया सरकारमा नबस्ने योजनामा पुगेका छन्। सरकार त आतिशीको नेतृत्वमा आपको नै रहिरहने छ। तर अन्तिममा आउने चुनावमा यसको परिणाम कस्तो होला त्यो भविष्यले बताउने छ।
अरविन्द केजरीवालले एउटा आयकर अधिकृतको नोकरी छाडेर देशबाट भ्रष्टाचार हटाउन र अन्यायमा परेकाहरूलाई न्याय दिलाउन भनेर सामाजिक क्षेत्रमा हामफालेका व्यक्ति हुन्। वास्तवमा राजनीतिमा आउने उनको सोख होइन बाध्यता बन्यो। उनी आफैले भन्छन् म राजनीति गर्न र पैसा कमाउन आएकै होइन बरु यो देशको मुहार बदल्न मैले समाजसेवामा पाइला राखेको थिएँ। तर यो फोहोरी राजनीति गर्नेहरूले मलाई पनि राजनीतिमा लागेर कसिंगर जस्तै बनाउन खोजेका थिए। तर मैले सबैभन्दा पहिले दिल्ली देशको राजधानीमा कुचो उठाएँ र बढार्ने योजना बनाएँ। केही हदसम्म सफल पनि भएँ। उनको भनाईमा सच्चाई पनि छ भन्ने कुरा उनले दिल्लीमा गरेको एक दशकको सुशासनले पुष्टि पनि गरेकै छ।