चलचित्र समीक्षा: बा र छोराबीचको घनिष्ठ सम्बन्ध झल्काउने ‘पूर्ण बहादुरको सारङ्गी’

<span class='c1'>चलचित्र समीक्षा: बा र छोराबीचको घनिष्ठ</span> <span class='c2'>सम्बन्ध झल्काउने ‘पूर्ण बहादुरको सारङ्गी’</span>

-कृति झा
महान् कलाकारहरू विजय बराल, प्रकाश सपूत, मुकुन्द भुसाल, अञ्जना बराईली, बुद्धि तामाङलाई समेटेर सरोज पौडेलद्वारा निर्देशित 'पूर्ण बहादुरको सारङ्गी'ले विशेषगरी बा र छोराबीचको घनिष्ठ सम्बन्ध झल्काएको पाइयो। कथाको विषयवस्तु नै बाको बलिदान, समर्पण र माया थियो। तर यसमा दर्शकसामु प्रकट गरिएको कथामा केही त विशेष अवश्य थियो। प्रायः चलचित्रहरूमा कुनै यस्तो घटना सम्पूर्ण कथाको कुनै एक भागमा देखाइन्छ जसले दर्शकलाई भावुक अवश्य बनाउँछ। तर यस चलचित्रले कथाको सुरुवातदेखि अन्त्यसम्म दर्शकको भावनालाई छुन पुगेको छ, जसले गर्दा यो चलचित्र हेरेर आँखा नरसाउने बिरलै होलान्।

विस्तारमा एक-एक सङ्कीर्ण घटनाहरूलाई केलाउने हो भने "पूर्ण बहादुरको सारङ्गी" एक बा र उनको छोराको सम्बन्ध दर्शाउने चलचित्र मात्र नभई अनेक सामाजिक, व्यवहारिक, सांसारिक, सांस्कृतिक कुराहरूको थुप्रो रहेको छ।

पौराणिक मान्यता अनुसार गन्धर्वहरू स्वर्गमा प्रस्तुति गर्ने संगीतकारहरू हुन् जसले त्यहाँ उपस्थितहरूलाई आनन्दित तुल्याउँथे। त्यसैगरी यस चलचित्रको गान्धर्विक सुर, भाका, लय, तालले दर्शकहरूलाई दिव्य सांगीतिक अनुभव प्रदान गरेकोमा कुनै शङ्का छैन। यसमा मुख्यतः नेपालको मध्य पहाडी क्षेत्रमा बसोबास गर्ने इन्डो-आर्यन जातीय समूहका परम्परागत संगीतकार, गन्धर्व जातिको संस्कृतिलाई एकदम स्पष्टै झल्काएको छ। उनीहरूको मान्यता, वैवाहिक रीति, जीवनयापनको पद्धतिलाई चलचित्रमा पेश गर्दा यसले नेपाली संस्कृतिको मान राख्न सफल भएको छ। एउटा सानो घटना जसमा खोला तर्नअघि कालो बोका काट्नुपर्ने मान्यता, र त्यो परम्पराको पालन नगरेको हुनाले भविष्यमा आइपरेको सङ्कटले कतै न कतै जातीय आस्थाको महत्व पक्कै रहेको छ भन्ने कुरा प्रष्ट्याएको छ।

सम्पूर्ण कथाको अध्यायहरूमा छुट्टै साना-साना कथा पाइने पोको हो "पूर्ण बहादुरको सारङ्गी"। एक गरिब र पिछडिएको परिवारमा जन्मेको बालकको आधारभूत आवश्यकताप्रतिको भोक हो सारङ्गी। छोराछोरीलाई सक्षम बनाउन एक पिताको दृढ समर्पण, त्याग, निःस्वार्थ योगदानको भावना हो सारङ्गी। अभाग्यवश आमा गुमाउन पुगेकालाई एक बाबुले मात्र दुवै अभिभावकको भूमिका राम्ररी निर्वाह गर्न सकिन्छ भन्ने उदाहरण हो सारङ्गी। बलिदान दिने पूर्ण बहादुर गन्धर्व र उच्च स्थान हासिल गरेर पनि आफ्ना बाको बलिदानको गुण नबिर्सने कमल गन्धर्व, दुवैलाई जोड्ने त्याग र मायाको धागो हो सारङ्गी। छोराको सफलताका लागि प्रतिबद्ध रहेका बाको प्रतिबद्धता भई गुञ्जिरहने सुरको मुहान हो सारङ्गी। दोधारको बेला सही बाटोको पहिचान गर्न नसक्ने बाटुलीको अस्मञ्जसबाट फुटेको कथा हो सारङ्गी। श्रीमान् र श्रीमतीको सम्बन्धमा भएको हर्ष-विस्मातको अनुभूति तेस्रो व्यक्तिलाई हुँदा सम्बन्धमा हुने प्रकोपको घटना हो सारङ्गी। एकै रगत भएका मानव जातिबीच नै यस्तो प्रगाढ भेदभावमा गरिने अफसोस हो सारङ्गी। पूर्ण बहादुरलाई अन्त्यमा छोराको चिठी पढेर सुनाइदिएको भए, उनको मृत्यु अवश्य पनि राहतयुक्त हुनेथियो, जसकारण समयले कसैलाई पर्खदैन भन्ने उदाहरण हो सारङ्गी। को कुन उचाइसम्म पुग्न सक्छ त्यसको अनुमान गर्न नसक्ने असमर्थता हो सारङ्गी।

यस चलचित्रबाट पाएको सिकाइ अनुसार कुनै अनैतिक गालीगलौज नबोली, अश्लीलता नदेखाइ, हिंसा नगरी पनि सिनेमालाई मौलिक बनाउन सक्षम हुन सकिँदो रहेछ। पिछडिएका वर्गको भावना झल्काइएको यस कथाले भेदभाव, छुवाछूतको प्रथालाई जरैदेखि नष्ट गर्नुपर्ने कुराको सन्देश पनि पाइन्छ। यसका साथै शिक्षा, स्वास्थ्य जस्ता मौलिक हक, अधिकारबाट कुनै पनि बालबालिका वञ्चित हुन दिनु धेरै नै ठूलो अपराध हो। आफ्ना अभिभावकले गरेका त्याग, समर्पणको सधैँ मान राख्नुपर्ने कुरा पनि आजको युगको एउटा जरुरी सिकाइ हो।

यी नै गुलियो, अमिलो, तितो स्वादहरूको मिश्रण भएको चलचित्र, नेपाली सिनेमा जगतको निकै ठूलो सफलता हो। यस चलचित्रलाई निकट भविष्यमा विश्वभर विभिन्न भाषामा डब संस्करण निकाल्दा हाम्रो देशको सिनेमा जगतका साथै संस्कृतिको मान झनै बढ्नेछ।

नेपाली चलचित्र खासै मन नपराउने म एउटा सामान्य दर्शक यस चलचित्रको गाथा सबैसामु गाउन निकै आतुर छु। यसले नेपाली निर्देशक, कलाकारहरूप्रति मेरो मनमा धेरै नै अपेक्षा जागृत हुन पुगेको छ। अन्त्यमा मेरो सम्पूर्ण नेपालीहरूप्रति विनम्र अनुरोध तथा सुझाव पनि, "पूर्ण बहादुरको सारङ्गी" अवश्य हेरौँ। आफ्नो देशको सिनेमा जगतको सफलतामा योगदान अवश्य पुर्याऔँ र आफू पनि चलचित्रमा झल्केको भावनाहरूमा हराऔँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्