औषधीका लापर्वाहीमा नियामक निकाय किन सधैं मौन

<span class='c1'>औषधीका लापर्वाहीमा नियामक निकाय</span> <span class='c2'>किन सधैं मौन</span>

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने औषधीसँग सम्बन्धि समस्या पछिल्लो समय धेरै दोहोरिने गरेको छ । औषधी पसलको मापदण्ड, यहाँबाट हुने कारोबार, उपभोक्तालाई दिने सेवालाई व्यापारमुखी मात्रै बनाउँदा मानव स्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्ने अवस्था आएको छ । विराटनगरमा नै पछिल्लो समय ओषधीको कारोबारमा केहि त्रुटी देखिएका छन् । जस्तो की एउटा औषधी पसलमा दशलाख मूल्य बराबरको खाद्यपूरक सामाग्री भेटिनु, औषधी व्यवस्था विभागले फिर्ता पठाउन निर्देशन दिएको एन्टिबायोटिक बिक्री वितरण गरिरहेको अवस्थामा फेला पर्नु, औषधी पसलबाट खरिद गरेर लगेको सिरफमा लेदो भेटिनुले यसको पुष्टि गर्दछ ।

कारोबारका क्रममा देखिने यी त्रुटी औंल्याउन जति सहज छ, त्यति नै असहज मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावले निम्त्याउँछ । यसको समयमै नियन्त्रण गर्नुपर्ने दायित्व हुन्छ । यसमा उत्पादक कम्पनीदेखि वितरक, बिक्रेता र उपभोक्ताको भूमिका महत्वपूर्ण हुन्छ । सेवाग्राहीले औषधीको स्थिति र त्यसको सूचक बुझेर मात्रै सेवन गर्दछन् भन्ने हुन्न । उनीहरुले चिकित्सकको सिफारिस र परामर्शलाई विश्वास राख्दछन् । चिकित्सकले सेवाग्राहीलाई अनावश्यक खाद्यपूरक सामाग्रीको भार थमाउने अनि औषधीको रुपमा बुझाउने कार्य पनि गलत हुन्छ ।

चिकित्सकले लेखेका आधारमा औषधी पसलले बिक्री गर्ने कार्य पनि व्यापारमुखी मात्रै हुन्छ । त्यति मात्रै नभई पसलबाट बिक्री भएका औषधीको म्याद, त्यसको अवस्थामा राम्ररी नहेरी उपभोक्तालाई बिक्री गर्ने कार्यपनि मानव स्वास्थ्यका लागि जोखिम निम्त्याउन सहयोगी हुन्छ । मानव स्वास्थ्यसँग जोडिएको हुनाले औषधीको लापर्वाहीपूर्ण बिक्री वितरणदेखि सेवनसम्ममा ध्यान दिनुपर्ने हुन्छ ।

तर, पछिल्लो समय एमटेक मेड कम्पनीले उत्पादन गरेको औषधी उपभोक्ताले उपयोग गरेर त्यसले पारेको असरदेखि, लाइफगार्ड फार्मेसीबाट खाद्यपूरक सामाग्री बरामद भएको घटनालाई सामान्य मात्रै मान्नुपर्ने देखिदैन । त्यति मात्रै नभई लाइफगार्डले फिर्ता गरिसक्नुपर्ने एन्टिबायोटिक बिक्री गरिरहेको विषय झन् गम्भीर छ । यसमा नियमाक निकाय औषधी व्यवस्था विभागले चासो राख्नुपर्ने हुन्छ । औषधी व्यवस्था विभागले औषधीसँग सम्बन्धि सबै समस्यालाई नियमित नियमन गरेर जनस्वास्थ्यको सुरक्षा दिनुपर्ने हुन्छ । औषधी व्यवस्था विभागले जनशक्ति वा अन्य कुनै कारण देखाएर बजारमा भईरहेको लापर्वाहीपूर्ण व्यापारलाई बढावा दिन मिल्दैन । यसका लागि सर्वपक्षीय सरोकारवाला निकायसँगको सहयोग लिएर भएपनि नियमन गर्नु जरुरी छ । स्थानीय प्रशासनमार्फत जनशक्ति व्यवस्थापन गराएर भएपनि सबै जिल्लाका ओषधी पसलहरुको नियमन गर्ने संयन्त्र तयार पार्ने, त्यो संयन्त्रले अनुगमन गर्ने, अनुगमनमा कैफियत देखिएमा प्रतिवेदन तयार पार्ने र त्यसको कारवाही औषधी व्यवस्थापन विभागले गर्ने कार्य तत्काल बढाउनु जरुरी देखिन्छ ।

जनस्वास्थ्यलाई नकारात्मक असर गर्ने कुरालाई समयमै नियन्त्रण गर्न नसके त्यसको शिकार आफ्नै घरभित्रका सदस्य पनि हुनसक्छन् भन्ने हेक्का समयमै राख्नुपर्दछ । औषधीका सेवनकर्ताले समेत खरिद गरेको औषधीको विषयमा जानकारी दिनसक्ने व्यक्तिमार्फत बुझ्ने प्रयास गरे राम्रो हुन्छ । म्याद गुज्रेको÷नगुज्रेको हेर्नु, औषधी हो वा खाद्यपूरक हो भन्ने यकिन गराउन सके त्यसले आफैंलाई फाइदा गर्ने कुरालाई उपभोक्ताले ध्यान दिनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्