विराटनगर । क्यान महासंघ मोरङले शनिबार ओएसिस क्याफेमा एक फरक शैलीको कार्यक्रम आयोजना गरी सदस्यता प्रमाणपत्र वितरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। प्रविधिमैत्री उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा कम्प्युटर व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा सानी नानी आयाम गौतम र निहारिका यादव उपस्थित थिए। कार्यक्रमको औपचारिक उद्घाटन सानी नानी निहारिका यादवले गमलामा रोपिएको फूलमा पानी हालेर गरेकी थिइन्।
संस्थाका कोषाध्यक्ष एवं टेकफिनिटी सोलुसनका प्रबन्ध निर्देशक सुजित झाले बालबालिकालाई प्रविधि र प्रकृति संरक्षणबारे शिक्षा दिनुपर्ने र मोबाइलको अत्यधिक प्रयोगबाट टाढा राख्नुपर्ने बताए। उनले आगामी दिनमा पनि सानालाई सिकाउँदै र ठूलालाई साथ लिएर अघि बढ्ने संस्थाको योजना रहेको जानकारी दिए।
मोरङ बार एसोसिएसनका उपाध्यक्ष नवराज दाहालको निर्वाचन अधिकृतको रूपमा नयाँ कार्यसमिति चयन भइसकेको थियो। उनैको हातबाट पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरियो। अधिवक्ता दाहालले क्यान महासंघ मोरङले सौहार्दपूर्ण वातावरणमा भिन्न शैलीमा कार्यक्रम गरिरहेको देख्दा खुसी लागेको र संस्थाले उल्लेखनीय प्रगति गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सबै सदस्य संस्थालाई परिचयपत्र, पिन र सदस्यता नम्बर कार्ड वितरण गरिएको थियो। संस्थाका उपाध्यक्ष तथा भेरो कम्प्युटरका प्रबन्धक सौरभ गोल्छले सदस्यता नम्बर कार्डले संस्था र व्यवसायप्रति ग्राहकको विश्वास बढ्ने आशा व्यक्त गरे।
न्यानोटेक आई.टी. सोलुसनका प्रबन्धक एवं हाल सर्वसम्मत निर्वाचित सुमितकुमार साहले संस्थाले बि.टु.बि., क्यान इन्फोटेक र छात्रवृत्ति कोष सञ्चालन गर्ने योजना रहेको बताए।
कार्यक्रममा संस्थाको आधिकारिक वेबपोर्टल https://canmorang.org.np को समेत लन्च गरिएको संस्थाका सचिव एवं आदर्श मा.वि.का कम्प्युटर प्रशिक्षक अजित चापागाईंले जानकारी दिए। उक्त पोर्टलमार्फत संस्थाका सम्पूर्ण गतिविधिहरू हेर्न सकिने उनले बताए।