विराटनगर । नेपाल औषधि व्यवसायी संघको आयोजना तथा भारतको पटनास्थित जय प्रभा मेदान्त सुपर स्पेसिलिटी अस्पतालको सहकार्यमा विराटनगरमा सिपीआर तालिम र क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संघका अध्यक्ष देशबन्धु ढकाल, महासचिव अरुण ब्राम्हण, केन्द्रीय सदस्य प्रदीप कुमार दास, डा. सन्दीप दास, डा. अभय कुमार मण्डल, आशिष कुमार लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
डा. अजय कुमार सिंहले पछिल्लो समय क्यान्सरको दर बढ्दै गएको बताउँदै सर्भाइकल र ब्रेस्ट क्यान्सर रोकथामका लागि एचपीभी खोप अनिवार्य रूपमा लगाउनुपर्नेमा जोड दिए। उनले मेमोग्राफी टेस्ट र अल्ट्रासाउन्ड जस्ता परीक्षणहरू नियमित रूपमा गर्नुपर्ने बताए।
सर्जिकल अन्कोलोजिस्ट डा. सन्दीप मण्डलले क्यान्सरको सुरुवाती चरणमा नै पहिचान गर्न सके उपचार सम्भव हुने जानकारी दिए। धेरै बिरामीमा तेस्रो वा चौथो चरणमा मात्र क्यान्सर पत्ता लाग्ने हुँदा उपचार कठिन हुने गरेको उनले बताए।
डा. मण्डलका अनुसार क्यान्सरका प्रमुख लक्षणहरूमा अत्यधिक थकान, एकाएक तौल घट्नु र लामो समयसम्म रक्तस्राव हुनु पर्दछन्। महिलाहरूमा पाठेघरको क्यान्सर बढी देखिने र यसको मुख्य कारण एचपीभी भाइरस रहेको उनले बताए। सुर्तीजन्य पदार्थ, मदिराको अत्यधिक सेवन र अस्वस्थ जीवनशैली क्यान्सरका अन्य प्रमुख कारण रहेको जानकारी दिँदै उनले १४ देखि १८ वर्ष उमेर समूहमा समेत क्यान्सर देखा पर्ने प्रवृत्ति बढेको बताए।
कार्यक्रममा सहभागीहरूलाई कार्डियोपल्मोनरी रेसुसिटेसन (सीपीआर) सम्बन्धी व्यावहारिक तालिम पनि प्रदान गरिएको थियो। आपतकालीन अवस्थामा सीपीआर जीवनरक्षक उपाय हुने बताइएको थियो।