इशु पन्त
विराटनगर । जाडो याममा हिटर तथा आगो लगायतका स्रोतहरूबाट छालामा प्रत्यक्ष असर पर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने सम्बन्धित क्षेत्रका विशेषज्ञहरुलको सुझाव छ ।
कोशी अस्पताल छाला तथा यौन रोग विशेषज्ञ डा. बिबिषा बानियाका अनुसार जाडोमा शरीरलाई न्यानो पार्ने क्रममा हानिकारक प्रकाशको प्रभाव बढाउँदा सौन्दर्यमा असर पार्नसक्दछ ।
अनुहारमा र संवेदनशील छालामा हानिकारक प्रकाशको प्रभाव नकारात्मक पर्ने भएकाले सौन्दर्यमा प्रत्यक्ष असर पर्न सक्ने जानकारी दिइएको छ । त्यसैले अनुहारलाई आगो वा हिटरको तापबाट बचाउन कपडाले छोपेर अन्य भागलाई मात्र सेक्नु पर्ने सुझाव समेत दिइएको छ । विशेषगरी ओठको छाला पातलो हुने भएकाले छिट्टै फुट्न सक्ने हुँदा रंग नभएको लिप बाम प्रयोग गर्न डा. बानियाले सल्लाह दिएकी छिन् । चाया–पोतो गर्मीमा मात्र नभई तातोको प्रभावले पनि देखिन सक्ने भएकाले सावधानी अपनाउन आवश्यक छ। रुघा–खोकी लाग्दा बाफ लिँदा पनि अनुहारमा पोतो देखिने सम्भावना रहने हुँदा बाफ लिने समयमा अनुहारलाई बचाउन सल्लाह दिइएको छ।
जाडो महिनामा बाहिरी वातावरण र शरीरको तापक्रमबीचको अन्तरका कारण छालाहरू सुख्खा हुने समस्या देखिन्छ। यसले सोरायसिस, एलर्जी, हात–खुट्टा सुनिने, छालामा चिलाउने, रातो डाबर आउने र पोल्ने जस्ता समस्या निम्त्याउन सक्छ। यस्तो अवस्थामा छालाको स्याहारका लागि लोसन, भ्यास्लिन र ग्लिसिरिन प्रयोग गर्न डा. बानियाले सुझाव दिएकी छन् ।
न्यानो कपडा लगाउने, भ्यास्लिन र लोसनको नियमित प्रयोग गर्ने, अत्याधिक हिटरको प्रयोग नगर्ने, चिसोबाट आएपछि एक्कासि आगोमा हात–गोडा नसेक्ने, रक्तसञ्चार बढाउन मालिस गर्ने र मनतातो पानीमा हात–गोडा डुबाएर तेल वा लोसन लगाउने सुझाव दिइएको छ। विशेषज्ञ बानियाका अनुसार जाडोमा सोरायसिसका बिरामी बढी देखिने गरेका छन्। यसलाई जरैबाट निको पार्न नसके पनि औषधिको मात्रासँगै नियमित लोसनको प्रयोगबाट नियन्त्रण गर्न सकिन्छ। जाडोमा छालाको अतिरिक्त हेरचाह गर्न, चिसोबाट जोगिन, र न्यानोपन कायम राख्न सुझाब दिइएको छ।