विराटनगर ट्राफिक लाइट, स्वनियम र स्वअनुशासन भन्दा अधिकारका कुरा धेरै

<span class='c1'>विराटनगर ट्राफिक लाइट, स्वनियम र</span> <span class='c2'>स्वअनुशासन भन्दा अधिकारका कुरा धेरै</span>

विराटनगर । शहरी यातायातको घनत्व व्यवस्थापन गर्न विराटनगरमा चार महिना अगाडी धमाधम ट्राफिकलाइट जडान भए । बरगाछीमा प्रदेश सरकारले ट्राफिकलाइट जडान गरेर प्रारम्भिक सञ्चालनमा आएपछि महानगरपालिकाले रोडशेष, जलजलाचौक, तीनपैनी, कन्चनबारी र घाँस चौकमा यसको विस्तार गरेको थियो ।

ट्राफिकलाइट जडान भएपछि त्यससँग सम्बन्धित अन्य व्यवस्थापन यथावत रहँदा नागरिकलाई बानी पार्न अहिलेसम्म पनि सकिरहेको छैन । ट्राफिकलाइट जडान गरेपछि सवारी आवागमन चुस्त हुने शहरका लागि विश्वास हुन्छ ।

सवारी आवागमनको थिती बसाउने प्रयास यस अगाडी समेत भए/गरे । विराटनगर महानगरपालिकाले सडक पार्किङ निषेधित क्षेत्र बनाएर सार्वजानिक पार्किङ अवधारणा समेत कार्यन्वयनमा ल्यायो । तर, शहरले त्यसलाई स्वीकार गर्नुभन्दा व्यापार नभएको र स्थानीय तहका जनप्रतिनिधि सीमापार जोगबनीबाट परिचालित भएको आरोपसम्म लगाउन भ्याए । सडक निषेधित पार्किङ बिफल भयो । जसले शहरको सवारी व्यवस्थापनलाई अराजक उन्मुख गरायो । त्यसको पछिल्लो संस्करण राजमार्गमा सिटी सफारी निषेध गराउने ट्राफिक प्रहरी कार्यालयको निर्णयमा ‘डन’हरुले सेन्टिमेन्टको नेतृत्व गर्नुले पुष्टि गर्दछ ।

राजमार्गको सवारी आवागमन र त्यसको नियमन गर्ने जिल्लास्ति मुख्य नेतृत्वदायी निकाय जिल्ला प्रशासन कार्यालय हुन्छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले राजमार्गको गञ्जागोललाई अभिषेक गिरीहरुको मागमा बिलय गराईदिए ।
विराटनगरको बृहत्तर विकासको संभावना कोट्याउने काम त अहिले पनि हुन्छ । पछिल्लो समय नागरिक अभियान नामक समूहले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई ४३ बुँदे ध्यानाकर्षण बुझाउँदै यी–यी काम गर्नुपर्दछ भन्ने सुझाव दियो । सुझावको केन्द्र छ, फुटपाथ व्यवस्थापन, सडकको आवागमन ।

तर, थिती बसाउनै सकस
सडकको आवागमन व्यवस्थापन सहज बनाउने एउटा विधी भनेको शहरमा जडान गरिएको ट्राफिकलाइट पनि हुन् । सडकको पार्किङ व्यवस्थापन सहज नहुँदा सवारी आवागमनको व्यवस्थापनको एउटा पाटो ट्राफिक लाइट नै हुनसक्ने संभावना देखिन्छ । तर, कार्यन्वयन गर्न भने जडान गरेको चार महिनामा भएका प्रयास अझै फितलो सावित देखिरहेका छन् ।

‘ट्राफिकलाइटको विषयमा जानकारी गराउन खोज्छौं, नबुझ्ने भेटिदैनन्’ मोरङका ट्राफिक प्रमुख राजन लम्साल भन्छन्–नबुझ्ने कोइ भेटिदैनन्, बुझेका देखिएका हैनन् । उनका अनुसार चार महिना प्रयत्न गर्दा पनि ट्राफिक लाइट उल्लंघन गर्नेको संख्या उतिकै छ । हालसम्म ८८६ जनालाई कारवाही नै गरिसकिएको छ । कारवाही गर्नुपर्ने कारण लेन र संकेत उल्लंघन हो ।

विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार हालसम्मको प्रयत्नबाट ट्राफिकलाइट प्रयोगमा बानि पार्नेसम्मका काम भएका छन् । यसका लागि महानगरपालिकाले लाइट जडान गरिएका क्षेत्रमा लेन सेप्रेटर (स्प्रिङ्ग पोट) राख्यो । चारसय सेप्रेटर खरिद गरेर लेन विभाजन गरिएकोमध्ये धेरै भाँचिएका छन् । झुक्किएर वा ठोक्किएर भन्दा पनि नियत राखेरै भाँचिएका दृष्य समेत सार्वजानिक भएका छन् । जसको उद्देश्य नागरिकले आफ्नो अधिकार सडकमाथि स्वतन्त्रपूर्वक छ, सडकमा राखिएका डिभाइडरहरु अधिकार कुण्ठित गर्ने वस्तु हुन् भन्ने बुझाई राखेको सोचेका छन् भन्ने देखिन्छ ।

उस्तै छन् चुनौती
ट्राफिकलाइट जडान गरेपछि त्यसको सहज कार्यान्वयनमा चुनौती समेत उतिकै देखिएका छन् । एउटा त नागरिकले लोकतन्त्रको प्रयोग स्वतन्त्रता र स्वेच्छातारितापूर्वक गर्न पाउनुपर्छ भन्ने ढंगले बुझेका छन् । अर्को नमिल्दो सडक संरचना कार्यन्वयनको चुनौती बनिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख लम्सालका अनुसार सडकको समान अवस्थिति नहुँदा सवारी व्यवस्थापनमा होल्ड हुने गरेको छ । ट्राफिक लाइट जडान गरिएको क्षेत्रमा ‘लेफ्ट लेन’ सधैं खुल्ला हुनुपर्ने हुन्छ । सवारी दाँया मोडिन रातो बत्तिले अवरोध नगर्नुपर्ने हुन्छ ।

ट्राफिक प्रमुख लम्सालका अनुसार तर सडकको समान चौडाई नभएका कारण यसको कार्यन्वयन हाईवेमा मात्रै संभव भईरहेको छ । लेफ्टलेन मोडिने सवारी समेत होल्ड गर्नुपर्ने स्थिति विद्यमान रहेको छ । यद्यपी नागरिकले आफू कता जाँदैछु भन्ने यकिन गरेर मोडिने की सिधा बस्ने भन्ने कुरा स्पष्ट भएर लेन रोज्ने हो भने समस्या हुँदैन ।

अर्को भनेको ट्राफिक लाइट जडान गरेका क्षेत्र आसपास नजिकै पार्किङ नहट्नु हो । दाँयाबाँया छेउतर्फको लेनबाट सवारी निकाल्नुपर्ने अवस्थामा लेन सेप्रेटर सकिने बितिकैदेखि अव्यवस्थित सडक पार्किङ अहिले पनि भईरहेको छ । यदि ट्राफिक लाइट जडान क्षेत्रदेखि आसपासको कम्तिमा दुईसय मिटर दुरी खाली गराउने हो भने सवारी आवागमन सहज हुने संभावना देखिन्छ ।

तत्कालै पुगिहालौं !
ट्राफिकलाइट जडान भएका क्षेत्रमा अधिकांश सवारीहरुले संकेत अनुसार नै नियन्त्रण वा गति दिनुपर्ने हुन्छ । तर, कतिपय सवारी चालक भने तत्कालै पुगिहाल्नु छ जस्तो गरेर ओभरटेक गरिरहेको देखिन्छ । सेकेण्डको मात्रै ढिलाले बिग्रीहाल्ने कसैको केहि हुँदैन । तर, त्यहि सेकेण्डको हतारले बिगारिहाले त्यसको क्षति यकिन गर्न नसक्ने हुन्छ । अधिक सवारी चाप भएको शहरमा थोरै संख्याका ट्राफिकले हेर्न भ्याउँदैनन् भन्ने लागेपछि लेन मिचेर अगाडी जाने प्रयत्न भनेको ‘म ढिला भईरहेको छु’ भनेजस्तो मात्रै हुन्छ । ट्राफिक प्रमुख लम्सालका अनुसार त्यसरी लेन क्रस गरेर अगाडी आउनेहरुलाई सोधखोज गरे उनीहरुले नै सबैभन्दा धेरै बुझेको झैं गरेर हैरान पारिदिने गरेका छन् ।

विधीले नगरेको हल प्रविधिले दिन्छ ?
ट्रान्सपोर्ट÷ट्राफिक इन्जिनियर विवेक सिंहका अनुसार विधी भनेको ट्राफिक नियम पालना गराउनु हुन्छ । त्यो अहिले भईरहेको मेन्युल फङसन ट्राफिक प्रहरी आफैं फिल्डमा उभिएर लाइट कन्ट्रोल गर्दै आएका छन् । उनीहरुको मोवाइलमा त्यसको सिस्टम सेट छ । ट्राफिक प्रहरीले चाहेको बेला संकेत टाइमिङ्ग व्यवस्थापन गर्न वा सेट गर्न सक्छन् । अर्को चाँहि महानगरपालिकाले जडान गरेको ट्राफिक लाइट अहिलेपनि ठेकेदार कम्पनी मातहत नै रहेर सञ्चालन भईरहेको छ ।

इन्जिनियर सिंहका अनुसार अहिलेको समस्या पार्किङ क्लियर नभएर र अर्को चाँहि बाँया लेन खुल्ला छ भन्ने नबुझेर भईरहेको छ । बाँया लेनलाई रातो बत्तिले नछेक्ने भन्ने बुझाई सबैमा नहुँदा सिधा जानेहरु अगाडी गएर गाडी रोक्ने समस्या देखिएको उनको भनाई छ ।
ट्राफिकलाइटसँगै जडान भएका क्यामराले अहिले पनि महानगरपालिकाको कन्ट्रोल रुममा फिल्डको फुटेज लाइभ देखिरहेको हुन्छ । ठेकेदार कम्पनीसँग यसमा एआई जडान प्रविधि हुनुपर्ने शर्त रहेका कारण त्यसको अडिट पनि भईरहेको छ । सवारी जनघनत्व कुन मोडमा कति भन्ने उल्लेख हुने गरेपनि एकै पटक व्यवहारिक कुरालाई प्रविधिमा हस्तान्तरण गर्न नसकिने देखिएको इन्जिनियर सिंहको बुझाई छ ।

‘अहिलेसम्म सवारी आवागमन व्यवस्थापनको काम ट्राफिक प्रहरीले गरिरहेका छन्, एकै पटक यो व्यवहारिक पक्षलाई प्रविधिमा ट्रान्सफर गर्दा कार्यन्वयन हुन मुश्किल देखिन्छ’ सिंहले भने–छ महिनासम्म यसमा बानी पारेपछि प्रविधिमार्फत थिती बसाउन सकिन्छ भन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्