विराटनगर । मोरङ प्रहरीले अदालतबाट दोषी ठहर भई फरार कैद तथा सजाय भुक्तानबाट छलिदैं आएका फरार नियन्त्रण अभियानलाई तिव्र बनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको छ महिनाको अवधीमा जिल्लामा ३४५ जना फरार पक्राउ गरेर अदालतमा उपस्थिति गराएको हो ।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार पुसमा मात्रै १५५ जना फरार प्रतिवादी नियन्त्रणमा परेका छन् । यस्तै मंसिरमा ८३, कार्तिकमा ६३, असोजमा १८, भदौमा १९ र साउनमा ८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मातहतका कार्यलय समेतले फरार प्रतिवादी पक्राउ गरेका हुन् । पक्राउ परेका फरार प्रतिवादीबाट १०१ वर्ष ७ महिना ५ दिन कैद र ४८ लाख ५१ हजार ३८ रुपैँया जरिवाना असुल भएको छ ।